झापा, माघ २२ – झापामा क्यान्सर रोगीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २,५८३ जना नयाँ क्यान्सर रोगी फेला परेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएको हो।

स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चूडामणि लुइँटेलका अनुसार, सार्वजनिक तथ्यांकभन्दा पनि झापामा क्यान्सर रोगीको वास्तविक संख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ। उनले क्यान्सरको दर नाटकीय रूपमा बढेको बताउँदै, यसबारे थप अनुसन्धान र खोज आवश्यक रहेको औंल्याए। साथै, उनले स्थानीय तहहरूले हेल्थ प्रोफाइल निर्माण गर्नुपर्ने आवश्यकता पनि उल्लेख गरे।

विश्व क्यान्सर दिवसको अवसरमा झापामा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने अभियान सुरु गरिएको छ। चारआलीस्थित शहीद दशरथ चन्द माविमा औपचारिक रूपमा उद्घाटन गरिएको कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक विश्वनाथ बरालको अध्यक्षता रहेको थियो। कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रमेश बाह्रकोटी, मेचीनगर उपप्रमुख मिना पोख्रेल, तथा शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी लगायतले सहभागीता जनाएका थिए।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, १० देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिरका ८,९८१ जना र कक्षा ६ देखि १० सम्मका ४६,०१८ जना गरी जम्मा ५४,९९९ किशोरीलाई एचपीभी खोप लगाइने छ। माघ २२ देखि माघ २९ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत झापाका १३१ वडामा खोप कार्यक्रम सुरु भएको छ। मेचीनगर, दमक, र बिर्तामोडमा माघ २९ गतेसम्म तथा अन्य पालिकामा माघ २७ गतेसम्म अभियान सञ्चालन हुनेछ।

नेपालमा पाठेघरको मुखको क्यान्सर मृत्यु दरको हिसाबले सबैभन्दा उच्च स्थानमा रहेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यो रोग विश्वभर चौथो स्थानमा रहेको छ भने नेपालमा दोस्रो स्थानमा रहेको छ। अध्ययन अनुसार, नेपालमा हरेक दिन ४ जना महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाउने गरेका छन्।

यस रोगको प्रमुख लक्षणहरूमा तल्लो पेट दुख्ने, अनियमित रगत बग्ने, कमजोरी महसुस हुने, रक्त अल्पता हुने, र गन्हाउने पानी बग्ने जस्ता लक्षणहरू देखिने गर्छन्। नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभी १६ र १८ प्रजातिका भाइरसका कारण हुने देखिएको छ। यही कारण किशोरीहरूलाई सिकोलिन नामक एचपीभी खोप लगाइँदै छ।

क्यान्सर लगायतका नसर्ने रोगहरूको मुख्य कारण सुर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन, अस्वस्थ खानपान, वायु प्रदूषण, तथा निष्क्रिय जीवनशैली रहेको चिकित्सकहरूले बताएका छन्। यस्ता रोगहरूबाट बच्नको लागि:

प्रारम्भिक पहिचानका लागि नियमित स्वास्थ्य परीक्षण गर्नु

अस्वस्थ जीवनशैली परित्याग गर्दै सन्तुलित आहार ग्रहण गर्नु

धूम्रपान तथा मादक पदार्थको सेवन नगर्नु

शारीरिक गतिविधि बढाउनु

रोगीको उचित उपचार तथा स्याहार गर्नु आवश्यक रहेको जनाइएको छ।

नसर्ने रोगबारे सचेतना अभाव र अस्वस्थ जीवनशैली कायम रहिरहेमा यो समस्या अझ भयावह बन्ने र नेपालकै लागि ठूलो चुनौती बन्न सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार