झापा । झापाको कनकाई नगरपालिकामा एक पुरुषले आफ्नै घरभित्र श्रीमतीसंग अनैतिक सम्बन्ध राखिरहेको भेटिएपछि खुकुरी प्रहार गरी घाइते बनाएका छन्।
हिजो साँझ ७:३० बजे कनकाई–१ बस्ने ४५ वर्षीय प्रकाश कार्कीले आफ्नै घरभित्र श्रीमती बिन्दा कार्की (४४) र सोही स्थानका ५५ वर्षीय कुलबहादुर बस्नेतलाई अनैतिक क्रियाकलापमा संलग्न अवस्थामा फेला पारी बस्नेतमाथि खुकुरी प्रहार गरेका हुन्।
खुकुरी प्रहारबाट बस्नेतको टाउकोमा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनापछि अस्थायी प्रहरी पोष्ट दुर्गापुरबाट पुगेको प्रहरी टोलीले घाइते बस्नेत, प्रकाश कार्की, र बिन्दा कार्कीलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा पठाइएको छ।
प्रहरीले घटनामा प्रयोग गरिएको खुकुरी पनि बरामद गरेको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।