(फाइल तस्विर) झापा, मेचीनगर – झापाको मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दा टी-स्टेट चिया बगानमा रुखको हाँगा काट्ने क्रममा घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ।
आज बिहान १०:३० बजे सोही क्षेत्रका २६ वर्षीय सिताराम उराउ र २३ वर्षीय सिलास उराउले बगानमा रहेको पिपलको रुखको हाँगा काट्न रुखमा चढेका थिए। काटिएको हाँगा नजिकैको बिजुलीको पोलमा ठोक्किँदा पोल ढलेको थियो। करेन्ट नभएको पोलमा जोडिएको तारले ५८ वर्षीय मंगले सार्कीलाई लाग्दा उनी गम्भीर घाइते भए।
घाइते सार्कीलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो। उपचारकै क्रममा बिहान ११:१५ बजे उनको मृत्यु भएको चिकित्सकले पुष्टि गरेका छन्।
यस घटनापछि रुखको हाँगा काट्ने दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।