बिर्तामोड नगरपालिका–३ सूर्यनगरस्थित रिद्धिसिद्धि भेनियर उद्योगमा कार्यरत एक युवती झुन्डिएको अवस्थामा फेला परेपछि ठेकेदार फरार भएका छन्।
गएराति सो उद्योगको कामदार बस्ने क्वार्टरभित्र कचनकवल गाउँपालिका वडा नं. ३ केचना बस्ने १७ वर्षीया रियाना खातुनले सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेकी हुन्। घटनापछि भारत अररिया बस्ने २५ वर्षीय ठेकेदार बिजला मोहमद फरार भएका छन्।
घटनास्थल बाँसको चित्राको घेराबारा र टिनको छानो भएको एकतले घर हो, जहाँ दुईवटा बेड राखिएको थियो। मृतक रियाना खातुन, उनकी १४ वर्षीया बहिनी साजना खातुन र ठेकेदार बिजला मोहमद एउटै कोठामा सुतेका थिए। आत्महत्या गरेको खबर पाएपछि प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक पदम बिष्टको कमाण्डमा टोली पुगेको थियो। टोली पुग्दा मृतकलाई ओछ्यानमा सुताइएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
घटनापछि फरार भएका ठेकेदारको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन्। हालसम्म घटनामा कुनै आपराधिक गतिविधि देखिएको छैन भने मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।