सुर्खेत । सुर्खेतबाट भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलाका तीर्थयात्रीहरू लिएर जाँदै गरेको बस बबई नजिक दुर्घटनाग्रस्त भएको छ। आइतबार बेलुका साढे ५ बजे तिर सुर्खेतबाट हिँडेको भे १ ख ४३३१ नम्बरको बस बबईभन्दा करिब १ किलोमिटर अघि सुर्खेतपट्टि दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
बसमा ४० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि घाइते सबैको उद्धार गरी उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रूपक खड्काले जानकारी दिए।
प्रहरीका अनुसार तीर्थयात्री बोकेको उक्त रिजर्भ बस बबई पुलभन्दा तल खसेको छ। दुर्घटनास्थलमा पुगेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारका अनुसार चालकसहित बसको अगाडिको भागमा बसेका ५ देखि ७ जना गम्भीर घाइते भएका छन्। प्रहरी टोली घटनास्थलमा खटिएको छ भने दुर्घटनाको थप विवरण आउन बाँकी छ।