हल्दिबारी । चर्चित गायिका एलिना चौहानले आफू ज्यान मार्ने धम्कीको सिकार बनेको खुलासा गरेकी छन्। मोरङ घर भई हाल युएईमा रहेका दीपक बराइलीले आफूसहित धेरैलाई ठगी गरेको आरोप लगाएपछि उनले यस्तो धम्की पाएको बताइएको छ।
एलिनाले आफ्नो फेसबुक पेजमार्फत भिडियो जारी गर्दै बराइलीले निरन्तर धम्की दिइरहेको खुलासा गरेकी हुन्। उनले भनेकी छन्, “मेरो ज्यानलाई खतरा बढेको छ। दिनहुँ धम्की आइरहेका छन्।”
गायिकाका अनुसार, केही समयअघि बराइलीले उनलाई एक कार्यक्रममा निम्त्याएर पारिश्रमिक नदिएको मात्र नभई उल्टै मानसिक तनाव र डर देखाउने व्यवहार गरेका थिए। यो विषयबारे एलिनाले पहिल्यै भिडियोमार्फत गुनासो गरेकी थिइन्।
हाल एलिनाले पुनः भिडियो जारी गर्दै आफू असुरक्षित रहेको बताएकी छिन्। उनले सम्बन्धित निकायलाई घटनाबारे गम्भीर ध्यान दिन आग्रह गरेकी छन्।