हल्दिबारी । प्रहरीले झापाका बिर्तामोड नगरपालिका र झापा गाउँपालिका क्षेत्रबाट लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
बिर्तामोड नगरपालिका-६, स्यालडाँगीका २५ वर्षीय मोहम्मद मुक्तार मन्सुरी हिजो राति ०७:३० बजे आफ्नै घरमा लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, मन्सुरीको साथबाट ३२० मिलिग्राम ब्राउनसुगर र ४ ग्राम १५० मिलिग्राम गाँजा बरामद गरिएको छ। उनलाई हाल इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, प्रहरीले झापा गाउँपालिका-३, फूलगाछी क्षेत्रबाट मन्जित भन्ने दर्पण वाग्लेलाई पनि लागुऔषधसहित पक्राउ गरेको छ।
कनकाई नगरपालिका-३, सुरुंगाका २५ वर्षीय वाग्ले हिजो राति ९ बजे पक्राउ परेका हुन्। उनको साथबाट ३ ग्राम ४८ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ।
दुवै अभियुक्तलाई लागुऔषध ओसारपसार तथा सेवन मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।