हल्दिबारी, फाल्गुन ३ ।
नेपाल सन्थाल विकास संघ र जुवन सन्थाल समाज हल्दिबारी वडा नं. २ द्वारा आयोजित सोहराई विशेष कार्यक्रम हल्दिबारी नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा आज सम्पन्न भएको छ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य क्षेत्र नं. ३ का सांसद राजेन्द्र प्रसाद लिङ्देन प्रमुख अतिथि रहनु भएको थियो। साथै संविधान सभा सदस्य मोहन टुडु, गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, नेपाल सन्थाल विकास संघका अध्यक्ष बडाराम हेमरम, निवर्तमान अन्तर्राष्ट्रिय सन्थाल परिषद उपाध्यक्ष जयराम मुर्मु, वडाका जनप्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत सन्थाल समुदायका नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
लखन हमरमले सोहराई पर्वको महत्व र परम्परागत सांस्कृतिक पृष्ठभूमिबारे प्रस्ट्याउँदै कार्यक्रममा मन्तव्य राख्नुभएको थियो। साथै नेपाल कांग्रेस हल्दिबारीका सभापति गंगा प्रसाई, सन्थाल विकास समिति झापाका अध्यक्ष बडराम हमरम, हल्दिबारी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक पाख्रिन, नेपाल सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय अध्यक्ष सुन्दर बेस्रा, हल्दिबारी वडा नं. २ का वडा अध्यक्ष सुकलाल राजवंशी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव विश्वदिप बेस्रा, संविधान सभा सदस्य मोहन टुडु तथा प्रमुख अतिथि लिङ्देनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा झापा, मोरङ, सुनसरीबाट आएका विभिन्न सांस्कृतिक समूहहरूले नृत्य तथा परम्परागत नाच प्रस्तुत गरेका थिए। समुहगत नृत्य प्रतियोगितामा मार्सल सुसार समूह (बिर्तामोड) प्रथम, धिमाल धुरा समूह (भद्रपुर) दोस्रो, सृष्टिका मुर्मुको समूह तृतीय तथा डिजेसी समूह (मदरगाछी) चौथो स्थान प्राप्त गरेका थिए। प्रतियोगितामा उत्कृष्ट समूहलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता बुद्धिनाथ किस्कुले गरेका थिए भने कार्यक्रमको संचालन एवं सहजीकरण लुखिराम मुर्मुले गर्नु भएको थियो साथै स्वागत मन्तव्य सुस्मिता मुर्मुको रहेको थियो ।