झापा । झापा जिल्लाको कचनकवल गाउँपालिका वडा नं. ०६, बनियानी विशाल बस्ती निवासी कमल खतिवडाको दुईतले घरमा आगलागी भएको छ। गए राति करिब १९:३५ बजे घरको तल्लो भाग पक्की तथा माथिल्लो भाग काठको संरचनामा टिनको छानो रहेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार, पूजाकोठामा बालेको दियोबाट आगो सल्किन गई आगलागी भएको अनुमान गरिएको छ।
आगलागीका कारण कुनै मानवीय तथा चौपायाको क्षति नभए पनि घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनापछि इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी, स्थानीय बासिन्दाहरू तथा भद्रपुर, मेचिनगर, र बिर्तामोड नगरपालिकाका बारुण यन्त्रहरूको सहयोगमा आगो करिब २२:०० बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।
आगलागीबाट भएको क्षतिको विवरण निम्नानुसार छ:
१. नगद: रु. १,००,०००/- (एक लाख) २. सुन: २५ तोला (अन्दाजी रु. ४१,४२,५००/-) ३. चाँदी: ७५ तोला (अन्दाजी रु. १,५०,०००/-) ४. एयर कण्डिसनर (AC): २ थान (अन्दाजी रु. १,६०,०००/-) ५. स्मार्ट टिभी (TV): २ थान (अन्दाजी रु. १,६०,०००/-) ६. अन्य घरायसी सामग्री: (अन्दाजी रु. १०,००,०००/-) ७. घर संरचनाको क्षति: (अन्दाजी रु. १२,८७,५००/-) कुल अनुमानित क्षति: रु. ७०,००,०००/- (सत्तरी लाख)
प्रशासनले घटनाको थप अनुसन्धान जारी राखेको छ भने स्थानीय तह तथा सरोकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक राहत तथा सहयोगका उपायहरू खोजी भइरहेको जनाएको छ ।