हल्दिबारी । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्स र झापा ११ एफसी भिड्दैछ ।
दुवै झापाली टोली उपाधि रक्षाका लागि आज दिउँसो ३ बजे भद्रपुरस्थित मेची रंगशालाको मैदान उत्रिदैछ । भद्रपुर ब्लेजर्सले दार्जिलिङ पुलिस क्लब, नेपाल पुलिस क्लब र बंगलादेशको काउर्न बाजार प्रगति संघलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने, झापा ११ ले मछिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड एफसी र भुटानको डाँगा युनाइटेडलाई पराजित गर्दै फाइनलमा पुगेको हो । दुवै टिमका प्रशिक्षक तथा कप्तानले उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रिने बताएका छन् ।
भद्रपुर झापा गोल्डकप आयोजक समितिले बिहीबार एयरपोर्ट होटेलमा आयोजना गरेको प्रि म्याच कन्फ्रेसनमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । झापा ११ बी डिभिजन लिगको तयारी गरिरहेकोका अवस्थामा यस गोल्डकपमा ए डिभिजन टोलीहरूलाई हराएकोले खेलाडीहरूमा आत्मविश्वास बढेको छ । खेलाडीको यही आत्मविश्वासका साथ उपाधि जित्नेमा हामी ढुक्क रहेको झापा ११ का प्रशिक्षक अङ्गुरकुमार खाडगीले बताए ।
यस्तो पहिलो पटक भएको हो । दुवै झापाली टोली फाइनलमा भिड्दैछ । झापाली दर्शकको समर्थन दुवै टिमलाई हुने भएकोले मैदानमा खेल रोमाञ्चक हुने उनको भनाई छ । पछिल्लो समयमा झापा ११ का खेलाडीको टिम वर्क राम्रो रहेकोले फाइनल जित्ने गरी मैदानमा उत्रिने झापाका कप्तान पेमा तामाङको भनाई छ ।
त्यस्तै आयोजकको टिम भद्रपुरले पनि दुई विदेशी र एउटा ए डिभिजन टोलीलाई हराएर फाइनलमा प्रवेश गरेकोले उपाधि कब्जा गर्ने रणीनित बनाएर मैदान उत्रिने भद्रपुरका सहायक प्रशिक्षक अर्जुन राईले बताए । घरेलु टिम र घरेलु दर्शकको समर्थन रहेकोले हामीले त्यही बमोजिम रणनीति बनाएर प्रदर्शन गर्ने उनको भनाई छ । उपाधि उचाल्नका लागि खेलाडीहरू उत्साहित छन् र सोही बमोजिम प्रदर्शनमा उत्रिने भद्रपुरका कप्तान आशिष चापागाईँले बताए ।