इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजदेखि सुरु हुँदैछ। एक महिनासम्म चल्ने यो पवित्र महिनामा मुस्लिम समुदायले विशेष धार्मिक विधि, आत्मसंयम, र उपवास (रोजा) बस्ने परम्परा रहेको छ। उर्दू क्यालेण्डरअनुसार सूर्योदयभन्दा पहिले अर्थात् बिहानको नमाज अगाडि केही खाद्य पदार्थ सेवन गरी रोजा सुरु गरिन्छ भने, बेलुका नमाजको आजानपछि मात्र उपवास तोड्ने गरिन्छ।
रोजाको अवधिमा निराहार रहनु मात्र नभई, आचरण सुधार्ने, संयमित रहने, धर्मग्रन्थ कुरानको अध्ययन गर्ने, दानशील बन्ने, गरिब तथा असहायहरूको सेवा गर्ने जस्ता कार्यहरूलाई विशेष महत्व दिइन्छ। उर्दू क्यालेण्डरअनुसार हिजरी संवत्को नवौँ महिना रमजान महिनालाई विशेष पवित्र मानिन्छ। इस्लाम धर्मअनुसार, यही महिनामा मुस्लिम धर्मग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ, जसकारण यो महिना विशेष महत्त्वपूर्ण मानिन्छ।
रोजाको समय तालिका दैनिक सूर्य उदय र अस्तसँगै परिवर्तन हुने भएकाले, प्रत्येक दिन बिहान तोकिएको समय अगावै खानेकुरा सेवन गरिन्छ भने, साँझ तोकिएको समयपछि मात्र आहार ग्रहण गर्न पाइन्छ। रमजान महिनाको अर्को विशेष पक्ष दान (जकात) हो। आर्थिक रूपमा सक्षम व्यक्तिहरूले गरिब तथा असहायहरूलाई आर्थिक सहयोग गर्ने, खाद्यान्न वितरण गर्ने परम्परा रहिआएको छ।
त्याग, तपस्या, बलिदान, र आत्मशुद्धिको रूपमा मनाइने रमजान पर्व मुस्लिम समुदायका लागि मात्र नभई, मानवताका लागि नै प्रेरणादायी रहेको मानिन्छ। यो महिनाले धार्मिक आस्था, समाज सेवाको भावना, र मानवीय संवेदनशीलताको सन्देश दिन्छ।