धरान, सुनसरी – धरान उपमहानगरपालिका-२० स्थित जंगलमा प्रहरीले गोली हानेर २३० केजी प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ। बिहीवार बिहान १२:३० बजे इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वमा रहेको टोलीले तस्करहरूसँग जम्का भेट हुँदा प्रतिरक्षाका लागि गोली चलाएको हो।
प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाका अनुसार धनकुटाको सागुरीगडी गाउँपालिका-९ आहालेबाट धरानतर्फ गाँजा बोकेर आइरहेका आठजनाको समूहलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले आक्रमणको प्रयास गरेपछि गोली प्रहार गरिएको हो। गोली लागेका तस्कर धनकुटा सागुरीगडी-९ निवासी ४३ वर्षीय हरिकुमार राइ रहेको पुष्टि भएको छ।
प्रहरीका अनुसार नौजना तस्करहरूले नौ भारी गाँजा नाम्लो लगाएर बोकेका थिए। बिष्णुपादुका जंगल क्षेत्रमा प्रहरी र तस्करबीच जम्का भेट भएको थियो। अनुसन्धानमा तस्करीको मुख्य योजनाकारले स्थानीय बासिन्दालाई रकम दिएर गाँजा धरान पुर्याउन लगाउने गरेको खुल्न आएको छ।
सुनसरी प्रहरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार राजमार्ग क्षेत्रमा कडा निगरानी भएपछि तस्करहरूले जंगलको बाटो प्रयोग गर्न थालेका छन्। यसअघि पनि प्रहरीले सयौं केजी गाँजा बरामद गर्नुका साथै दुई दर्जनभन्दा बढी सवारी साधन नियन्त्रणमा लिइसकेको छ। प्रहरी प्रशासनले गाँजा तस्करी नियन्त्रणलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।