बिर्तामोड, झापा: नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपालमा राजसंस्थालाई फर्काउने विषयलाई ‘चिया पसलको गफ’ को संज्ञा दिएका छन्। नेपाल प्रेस युनियन झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राजा फर्काउने चर्चा निरर्थक रहेको बताएका हुन्।

राजावादी समूहले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनःस्थापित गर्ने प्रयास गरिरहेको सन्दर्भ उल्लेख गर्दै उनले भने, “फ्रान्सको पेरिसमा एउटा चिया पसल छ, जहाँ सयौँ वर्षदेखि राजा फर्काउनु पर्छ भन्ने गफ चलिरहेको छ। नेपालमा पनि यही अवस्था छ। तर, केवल राजसंस्थाको चर्चा गरेर मात्रै केही हुँदैन, लोकतान्त्रिक प्रणालीले जनताको विश्वास जित्न आवश्यक छ।”

नेता कोइरालाले राजसंस्थाको पुनरागमन असम्भव रहेको स्पष्ट पार्दै भने, “माई खोलामा धेरै पानी बगिसक्यो। राजा फर्कने कुरामा म विश्वास राख्दिनँ।” तर, उनले राजसंस्थाका पक्षधरहरू आफ्नो प्रयासमा लागिरहने कुरा भने स्वीकार गरे।

नेता कोइरालाले राजनीतिक दलहरू कमजोर भएका कारण जनताको असन्तुष्टि बढेको बताए। “किन अहिले जनता सडकमा उत्रिरहेका छन्? किन मोटरसाइकल र्‌यालीहरू भइरहेका छन्? यसबारे सोच्न जरुरी छ,” उनले भने। सत्तारूढ दल कांग्रेस सरकारमा भए पनि प्रभावकारी भूमिकामा नरहेको उनको टिप्पणी थियो।

उनले कांग्रेसको आगामी महाधिवेशन २०८२ चैत मसान्तभित्र सम्पन्न गर्नु उपयुक्त हुने धारणा राखे। पत्रकार सम्मेलन नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव अर्जुन राजवंशीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार