हल्दिबारी, फाल्गुन २७। हल्दिबारी गाउँपालिका वडा नं-३ मा कुष्ठरोग रोकथामका लागि सचेतना फैलाउने तथा कुष्ठरोगी पहिचान र उपचारसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।
वडा अध्यक्ष विष्णु प्रसाद ओलीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा वडा सदस्य अजित कुमार बिष्ट, कर्ण भण्डारी, विष्णुमाया तिम्सिना ढुंगेल, स्वास्थ्यकर्मी हिमा धमला, रामेश्वर विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुमन ठकुरी, वडाका स्वयंसेवीहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
नेपाल कुष्ठरोग संगति (NLF) का कार्यक्रम अधिकृत पर्शुराम पोखरेलले प्रशिक्षण दिनुभएको कार्यक्रममा कुष्ठरोगको पहिचान, संक्रमण, समाधान तथा रोकथामका विषयमा छलफल गरिएको थियो। तथ्यांकअनुसार प्रत्येक १० हजार जनसंख्याको दरमा १ जनालाई कुष्ठरोग लाग्न सक्ने तथ्य रहे पनि हल्दिबारीमा ३२,७२२ जनसंख्या रहेकोमा ५ जना कुष्ठरोगबाट प्रभावित भइसकेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष ओली र वडा सदस्य बिष्टले रोगको रोकथामका लागि एकजुट भएर कार्य गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। अभिमुखिकरण कार्यक्रमको सञ्चालन एवम् सहजीकरण स्वास्थ्यकर्मी राम प्रसाद ढकालले गर्नुभएको थियो।
त्यस्तै, आज बिहान वडा नं-२ का विद्यालय प्रधानाध्यापकहरूसँग समेत “कुष्ठरोगसम्बन्धी सरोकारवाला निकायसँग अभिमुखिकरण कार्यक्रम” सञ्चालन गरिएको थियो।