पाँचथर, २२ चैत। पाँचथरको कुम्मायक गाउँपालिका–३ स्थित निजी वनमा लागेको डढेलोमा परेर २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको मृत्यु भएको छ। घाँस दाउरा गर्न गएकी प्रतिमा अमर थापा र पदम खड्कालगायतको निजी जंगलमा लागेको डढेलोमा परेकी थिइन्।
गम्भीर घाइते अवस्थामै उनलाई उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर उपचारको क्रममा राति ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए।
डढेलोमा परेर प्रतिमासहित ४ जना घाइते भएका थिए। भाग्न सक्ने ठाउँ नहुँदा उनीहरू डढेलोको चपेटामा परेका थिए।
घटनामा २८ वर्षीया सपना सम्वाहाम्फे, उनकी ११ वर्षीया छोरी शिवाना सम्वाहाम्फे र ६० वर्षीया निरमाया सम्वाहाम्फे गम्भीर घाइते छन्। उनीहरू सबैको धरानमै उपचार भइरहेको छ।
प्रहरीका अनुसार आगलागीबाट घाइते भएका सबैको तत्काल उद्धार गरी उपचारका लागि पठाइएको हो।
यस्तो डढेलो नियन्त्रणका उपाय र जोखिम न्यूनीकरणका लागि स्थानीय तह तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक देखिएको छ।