वीरगञ्ज । वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा अनुसन्धान सम्पन्न गरी प्रहरीले सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गत शुक्रबार अनुसन्धान पूरा गरी फाइल सरकारी वकिल कार्यालयमा पठाइएको हो। प्रहरीले सानो पाइला सहकारीमा ठगी र संगठित अपराध अन्तर्गत अनुसन्धान गरेको हो भने सम्पत्ति शुद्धीकरणसम्बन्धी छुट्टै अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

प्रहरीले ३० जना व्यक्ति र ११ वटा संस्था गरी ४१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ। प्रतिवेदनअनुसार सहकारी ठगीमा कूल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ बिगो दाबी प्रस्तुत गरिएको छ।

यस प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसमेत प्रतिवादी रहेका छन्। प्रहरी प्रतिवेदन अनुसार लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ र जोशीविरुद्ध ३ करोड २४ लाख ३२ हजार ९९९ रुपैयाँ बिगो मागदाबी सिफारिस गरिएको छ।

त्यस्तै, सहकारी ठगी प्रकरणका मुख्य नाइके भनिएका फरार अभियुक्त जीबी राईविरुद्ध १० करोड ८१ लाख ५२ हजार ४६९ रुपैयाँ र थुनामा रहेका भैरहवाका मेयर देवकुमार नेपालीसँग १५ करोड ५३ लाख ५३ हजार ३४६ रुपैयाँ बिगो मागदाबी गरिएको छ।

लामिछाने र जोशी हाल पुर्पक्षका लागि कारागारमा रहेका छन्। लामिछानेविरुद्ध यसअघि पनि पोखराको सूर्यदर्शन सहकारी, चितवनको साहारा सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी र बुटवलको सुप्रिम सहकारीमा समेत मुद्दा दर्ता भइसकेको थियो। तीमध्ये विभिन्न जिल्ला अदालतले धरौटीमा रिहा गरे पनि पछिल्लो समय उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको थियो।

प्रहरीका अनुसार सानो पाइला सहकारीले ऐन विपरीत वीरगञ्ज क्षेत्रबाहिरका व्यक्तिहरूलाई ऋण प्रवाह गरी अपचलन गरेको थियो। कुल जम्मा भएको करिब १ अर्ब ३५ करोड रुपैयाँमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर लगानी गरिएको पाइएको छ।

उक्त सहकारीले करिब ८ सय बचतकर्ताबाट रकम संकलन गरेको र सो रकम गैरकानुनी रूपमा विभिन्न व्यक्तिहरू र संस्थामा लगानी गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार