काठमाडौं, वैशाख १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तल्लो तहका संरचनालाई निर्धारित समयमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ। कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रदेश, जिल्ला, पालिका र वडा तहका समितिहरूलाई परिपत्र जारी गर्दै तत्काल अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाउने र माथिल्लो तहमा बुझाउने व्यवस्था मिलाउन आग्रह गरेका छन्।
रास्वपाले वैशाखको अन्तिम साता गर्ने भनिएको महाधिवेशन मिति सर्नुमा तल्लो तहका अधिवेशन समयमा नसकिएको कारण देखाएको छ। अब ७ देखि ९ फागुनसम्म चितवनमा महाधिवेशन गर्ने नयाँ मिति तोकिएको छ।
४ वैशाखमा बसेको केन्द्रीय समिति बैठकले वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशनको नयाँ कार्यतालिका पनि निर्धारण गरेको छ। नयाँ तालिका अनुसार वडा अधिवेशन असोजसम्म, पालिका अधिवेशन कात्तिकमा, जिल्ला अधिवेशन मंसिरमा र प्रदेश अधिवेशन माघसम्म सम्पन्न गरिनेछ। साथै, प्रदेशका सबै प्रस्तावित अधिवेशन तालिका वैशाख १५ भित्र केन्द्रीय संगठन विभागमा पठाउन निर्देशन दिइएको छ।
हालसम्म रास्वपाले ७१ जिल्लामा संगठन विस्तार गरिसकेको छ। मनाङ, मुस्ताङ, डोल्पा र पूर्वी रुकुममा भने प्रतिनिधि नियुक्त गरेर संगठन सञ्चालन भइरहेको छ। पालिका तहमा ४५८ कार्य समिति सक्रिय छन् भने करिब २ हजार वडा समिति गठन भइसकेको छ। ८ सय वडामा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिएको जानकारी दिइएको छ।
पालिका तहमा भने हालसम्म १८ पालिकामा मात्र अधिवेशन सम्पन्न भएको छ। कोशी प्रदेशका झापा जिल्लाका केही पालिकामा, बाग्मती प्रदेशको काठमाडौं र नुवाकोटमा, चितवनको माडीमा, गण्डकी प्रदेशको नवलपुरमा, लुम्बिनी प्रदेशको रुपन्देही र सुदूरपश्चिम प्रदेशका कञ्चनपुर जिल्लाका केही पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ। मधेश प्रदेशमा भने हालसम्म कुनै पालिकामा अधिवेशन सम्पन्न हुन सकेको छैन।
रास्वपाले संगठन सुदृढीकरण गर्दै आगामी महाधिवेशन सफल बनाउन तल्लो तहका संरचनालाई सक्रिय र व्यवस्थित बनाउने अभियान तीव्र बनाएको छ।