काठमाडौँ, वैशाख १५ । वित्तीय पीडितहरूले आफूहरूको शान्तिपूर्ण आवाजप्रति सरकार उदासीन भएको आरोप लगाउँदै आज काठमाडौँको माइतीघरमा अर्धनग्न प्रदर्शन गरेका छन्। लघुवित्त, सहकारी तथा मिटरब्याजी पीडितहरूले वर्षौँदेखि जारी शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई दबाब दिन यस्तो प्रदर्शन गरेका हुन्।
आन्दोलनरत पीडितहरूका अनुसार, सरकारसँग अघिल्लो चरणमा भएका सहमतिहरू अझै कार्यान्वयन नभएपछि बाध्य भएर पुनः सडकमा आउनुपरेको हो। उनीहरूले आफ्नो मागलाई गम्भीरतापूर्वक नलिएको र समाधानका लागि कुनै ठोस पहल नगरेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन्।
“हामी वर्षौँदेखि शान्तिपूर्ण रूपमा आवाज उठाइरहेका छौँ, तर सरकारले हामीलाई बेवास्ता गरिरहेको छ। हामीसँग भएका सहमतिहरू कागजमै सीमित छन्,” एक प्रदर्शनकारीले बताए।
पीडितहरू अबका दिनमा आफ्ना आन्दोलनहरू अझ सशक्त बनाउने चेतावनीसमेत दिएका छन्। उनीहरूले सरकारलाई तत्काल समस्याहरू समाधान नगरे थप कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने बताएका छन्।