नेपालमा २०६५ साल जेठ १५ गतेदेखि गणतन्त्रको यात्रा सुरु भएको हो। त्यो दिन, जनताको लामो संघर्ष र बलिदानपछि राजतन्त्र अन्त्य भयो र लोकतान्त्रिक गणतन्त्रको घोषणा गरियो। जनताले आशा गरे– अब शासन जनताको हातमा आउनेछ, देशमा सुशासन हुनेछ, समानता र समृद्धि कायम हुनेछ। तर आज १७ वर्षपछि ती सपना अधुरै छन्। यही असन्तुष्टिमा केही समूहहरू फेरि “राजा आउ, देश बचाउ” भन्ने नाराका साथ राजतन्त्रको पक्षमा उभिन थालेका छन्। संसददेखि सडकसम्म यसले चर्चा पाएको छ। तर प्रश्न उठ्छ – गाडी बिग्रियो भन्दै गोरु गाडा खोज्नु बुद्धिमानी हो त? कि बिग्रिएको गाडी मर्मत गरेर अघि बढ्नु उचित?
नेपालको राजनीतिक इतिहास हेर्दा हामीले २४० वर्षको राजतन्त्र, त्यसमा पनि झन्डै एक शताब्दी राणा निरंकुशता भोगेका छौं। त्यही इतिहासले हामीलाई लोकतन्त्रको बाटो रोज्न बाध्य बनाएको हो। तर आजको गणतन्त्रले पनि अपेक्षित नतिजा दिन सकेको छैन। भ्रष्टाचार, कुशासन, राजनीतिक अस्थिरता, जनतालाई बेवास्ता गर्ने प्रवृत्तिले वर्तमान व्यवस्थामा असन्तोष चुलिएको हो।
तर के यसको समाधान विगततर्फ फर्किनु हो? के हामीले लोकतन्त्रको गाडी बिग्रियो भन्दै गोरु गाडा – अर्थात् राजतन्त्र – खोज्नु पर्छ? कि बिग्रिएको गाडी मर्मत गरेर सही दिशामा अघि बढ्नु पर्छ?
लोकतन्त्रमा त्रुटि छन्, तर सुधार सम्भव छ,:
लोकतन्त्र कुनै जादूको छडी होइन, तर यो जनताको सहभागितामूलक व्यवस्था हो जहाँ त्रुटि भए पनि जनताले आवाज उठाएर सुधार गर्न सक्छन्। विश्वका सफल लोकतान्त्रिक राष्ट्रहरू – क्यानाडा, स्वीडेन, जर्मनी, न्यूजील्याण्ड जस्ता देश – सुशासन र नागरिक स्वतन्त्रताको उदाहरण बनेका छन्। किनभने त्यहाँको जनताले लोकतन्त्रलाई फालेर होइन, सुधार गरेर बलियो बनाएका छन्।
नेपालमा पनि गणतन्त्रको गाडी बिग्रिएको हो भने त्यसलाई छोड्ने होइन, मर्मत गर्ने बेला हो। व्यवस्था फेर्दैमा समस्या हट्दैन, व्यवस्थापक नफेरेसम्म। आज आवश्यक छ – जवाफदेही नेतृत्व, सक्रिय नागरिकता, पारदर्शी संस्था र जनउत्तरदायी शासन।
राजतन्त्र फर्काउने कुरा भनेको समस्याबाट भाग्ने हो, समाधानतर्फ अघि नबढ्ने हो। इतिहासले प्रमाणित गरिसकेको छ – राजतन्त्रमा जनताको स्थान सधैं दोस्रो श्रेणीको हुन्छ। लोकतन्त्रमा जनताको आवाजको ठाउँ हुन्छ – जति कमजोर भए पनि त्यो आवाज उठाएर व्यवस्था सुधार गर्न सकिन्छ।
निष्कर्षतः, “गाडी बिग्रियो भनेर गोरु गाडा खोज्नु” समस्याबाट पलायन हो। बरु त्यो गाडी मर्मत गर्ने संकल्प गरौं – जनताको आवाजलाई केन्द्रमा राखेर लोकतन्त्रलाई शुद्ध बनाउने। आज हामीलाई व्यवस्थाको होइन, व्यवस्थापनको रूपान्तरण चाहिएको छ।
देश बचाउने राजा होइन, सचेत नागरिक र जवाफदेही नेतृत्व हो।
नारायणबहादुर बस्नेत
मेचिनगर-८ झापा ।