घर एउटा मन्दिर हो, जहाँ प्रेम, विश्वास, र सम्मानका दियोहरू बल्नुपर्छ। तर त्यही मन्दिरमा जब एक श्रीमानले आफ्नो जागिरे पत्नीलाई निरन्तर मानसिक, शारीरिक र भावनात्मक हिंसा गर्छ, त्यो घर नरकमा परिणत हुन्छ।
एक जागिरे श्रीमान, जसले आफैं काम गर्छन्, तर आफ्नै पत्नीको आत्मनिर्भरता र सफलतामा डाह राख्छन्। उहाँको आत्मबल होइन, दम्भ छ –
“मसँग पैसा छ, पैसाले जे पनि गर्न सक्छु”
भन्ने घमण्डले भरिएको मन। तर पैसाले आत्मीयता किन्न सकिंदैन, मायाको मूल्य तिर्न सकिंदैन, र अभिभावकत्वको जिम्मेवारी किन्न पनि सकिंदैन।
त्यो श्रीमान, जो दिनदिनै पत्नीलाई कुटपिट गर्छ, मानसिक यातना दिन्छ, र बिरामी छोराप्रति पनि संवेदनशील हुँदैन, उसलाई “पुरुषत्व” भन्न मिल्दैन। उसले परस्त्रीसँग घण्टौँ कुरा गर्छ, तर आफ्नो परिवारलाई एकछिन स्नेह देखाउन सक्दैन। यस्तो व्यक्ति केवल कायर हो – बाहिर कठोर, भित्र कमजोर र रिक्त।
महिलाको शक्तिको कुरा गर्दा, उनी केवल एक पत्नी मात्र होइनन् – उनी पृथ्वी हुन्, जसले धैर्यपूर्वक सबथोक सहन्छिन्; लक्ष्मी हुन्, जो घरको समृद्धि ल्याउँछिन्; सरस्वती हुन्, जसले ज्ञान र संस्कार दिन्छिन्; दुर्गा हुन्, जसले अन्याय विरुद्ध लड्न सक्छिन्; र काली पनि, जसले अत्याचारको अन्त्य गर्न सक्छिन्।
यदि कुनै घरमा महिलाको सम्मान हुँदैन भने त्यो घर मन्दिर होइन, चिहान बनिन्छ। जहाँ आँशुहरू टल्किन्छन्, र मुस्कानहरू मर्दै जान्छन्।
त्यस्तो श्रीमान जो हिंस्रक छ, परिवारमा माया दिन सक्दैन, जिम्मेवारी बहन गर्न सक्दैन – उसले आफैंलाई बदल्नुपर्छ। कानुनी र सामाजिक प्रतिकार पनि जरुरी हुन्छ, किनभने नारीको सहनशीलता अन्तहीन छैन।
समाजले बुझ्न जरुरी छ – महिला सजिलो लक्ष्य होइनन्, उनीहरू परिवर्तनका केन्द्र हुन्। जहाँ महिला सम्मानित हुन्छिन्, त्यहाँ नै समृद्धि र शान्ति हुन्छ।
नारायणबहादुर बस्नेत
मेचिनगर-८ झापा । #viralpost2025🌹🌹🌹🌹🌹

Post Views: 192