हल्दीबारी। झापाको हल्दीबारी गाउँपालिका–४ ऐनाबारीस्थित दीपेन्द्र आधारभूत विद्यालयमा अध्ययनरत छात्रा समृद्धि मेचेले काठमाडौंस्थित प्रतिष्ठित बुढानीलकण्ठ स्कुलमा पूर्ण छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर प्राप्त गरेकी छन्।
विक्रम सम्वत् २०७२ साल साउन १६ गते बुबा सुनिल मेचे र आमा सुनिता मेचेको कोखबाट दोस्रो सन्तानका रूपमा जन्मिएकी समृद्धि नेपालकै लोपोन्मुख सीमान्तकृत समुदायकी प्रतिनिधि हुन्। उनले बालकक्षा देखि कक्षा ४ सम्मको अध्ययन दीपेन्द्र आधारभूत विद्यालयमै गरेकी हुन्। अत्यन्त मेहनती, निडर र नेतृत्व क्षमतामा अब्बल समृद्धिले हालै बुढानीलकण्ठ स्कुलको प्रतिस्पर्धात्मक छात्रवृत्ति परीक्षा उत्तीर्ण गर्दै सो विद्यालयमा अध्ययनको लागि चयन हुन सफल भएकी हुन्।
समृद्धिको यस उपलब्धिले दीपेन्द्र आधारभूत विद्यालयको गौरव अझै बढाएको छ। गत वर्ष २०८१ मा पनि सोही विद्यालयकी अर्की छात्रा, हल्दीबारी–५ लक्ष्मीनारायण मन्दिर टोलकी शिक्षा बास्कोटाले पूर्ण छात्रवृत्तिसहित बुढानीलकण्ठ स्कुलमा अध्ययनको अवसर पाएकी थिइन्। त्यसअघि २०७१ सालमा अंकित महतोले पनि सोही विद्यालयबाट पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने मौका पाएका थिए। उनी हाल उच्च शिक्षामा संलग्न छन्।
बुढानीलकण्ठ स्कुल सन् १९७२ मा नेपाल र बेलायत सरकारबीचको साझेदारीमा स्थापना गरिएको हो। सन् १९८३ देखि अंग्रेजी भाषालाई आधिकारिक शिक्षण माध्यम बनाइएको यस विद्यालयमा क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गतको ओ-लेभल र ए-लेभल कार्यक्रम क्रमशः १९८५ र १९८६ देखि सञ्चालन हुँदै आएको छ।
लगातार दुई वर्षसम्म दीपेन्द्र आधारभूत विद्यालयबाट छात्राहरूले राष्ट्रिय स्तरको यो प्रतिष्ठित विद्यालयमा स्थान सुरक्षित गर्नु सुखद र प्रेरणादायी उपलब्धि मानिएको छ।