एजेन्सी। भारत र पाकिस्तानबीच पछिल्ला घटनाक्रमले दुई देशलाई अघोषित युद्धतर्फ धकेलेको पुष्टि भएको छ। जम्मु–कश्मीरको पहलगाममा दुई हप्ता अघि चरमपन्थी आक्रमणमा २६ जनाको ज्यान गएपछि भारतले मंगलबार मध्यराति पाकिस्तानका विभिन्न स्थानमा मिसाइल आक्रमण गरेको छ। भारतले “अपरेशन सिन्दुर” नाम दिएको सो आक्रमणमा पाकिस्तानका नौ स्थान लक्षित गरिएको थियो।

पाकिस्तानी अधिकारीहरूका अनुसार भारतीय आक्रमणमा आठ पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। पाकिस्तानले तत्काल जवाफी कारबाही गर्दै भारतका पाँच लडाकु विमान र एक ड्रोन खसालेको दाबी गरेको छ। दाबी अनुसार तीमध्ये तीन राफाल, एक मिग–२९, एक सुखोई–३० विमान र एक हेरोन ड्रोन थिए।

भारतीय सेनाका प्रवक्ताले पनि कश्मीर क्षेत्रमा पाकिस्तानी आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेका छन्।

रणनीतिक निर्णय र पानीको राजनीतिः

२६ जनाको ज्यान जाने आतंकवादी घटनापछि भारतले पाकिस्तानविरुद्ध कयौं कडाभन्दा कडा निर्णयहरू लिएको थियो। त्यसको जवाफमा पाकिस्तानले पनि अनेकौं कदमहरू चालेको देखिएको छ। भारतले सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय गरेपछि पाकिस्तानले यसलाई “अत्यन्त गम्भीर” मानेको जनाएको छ।

त्यहीबीच पाकिस्तानले भारतमाथि जानकारी बिना झेलम नदीमा पानी छोडेको आरोप पनि लगाएको छ, जसका कारण मुजफ्फराबाद क्षेत्रमा बाढीको अवस्था सिर्जना भएको बताइएको छ। विश्लेषकहरूका अनुसार पानी रोक्ने निर्णय एक किसिमको युद्ध घोषणा सरह हुने चेतावनी दिएका छन्।

अघोषित युद्धको जोखिम र परमाणु छायाः

भारत र पाकिस्तान दुबैसँग परमाणु हतियार रहेको कारण हालको तनावले विश्वस्तरमै चिन्ता उत्पन्न गराएको छ। भारत अहिलेसम्म ‘पहिलो प्रयोग नगर्ने’ परमाणु नीति पालना गर्दै आएको भए पनि, पछिल्ला वर्षहरूमा भारतीय नेताहरूले यो नीति परिबर्तन हुनसक्ने संकेत दिएका छन्।

विश्लेषकहरूका अनुसार भारत र पाकिस्तान सन् १९७१ को युद्धजस्तो अवस्थामा छैनन्। दुबै देश सैन्य रूपमा शक्तिशाली भएका छन्, र यसपटकको युद्धले अप्रत्याशित रूप लिन सक्ने जोखिम रहेको छ।

सैन्य शक्तिको तुलनाः

सैन्य जनशक्ति, रक्षा बजेट, हवाई शक्ति, स्थल सेना, नौसेना र परमाणु क्षमताको तुलनामा भारतलाई सामान्यतया बलियो मानिन्छ। भारतसँग करिब १४.५ लाख सक्रिय सेना, ७४ अर्ब डलरको रक्षा बजेट, अत्याधुनिक वायु रक्षा प्रणाली, विमानवाहक पोत र १६४ परमाणु हतियार छन्। पाकिस्तानसँग पनि सशक्त सैन्य क्षमता रहेको छ, विशेषतः परमाणु हतियार (१७० वारहेड्स) र रणनीतिक समर्थनका हिसाबले चीनको सहयोग रहेको मानिन्छ।

अन्तर्राष्ट्रिय चिन्ता र आग्रहः

चीन, रूस जस्ता शक्तिशाली राष्ट्रहरूले स्थिति नियन्त्रणमा राख्ने आश्वासन दिएका छन्। विश्वका शीर्ष नेताहरूले दुबै देशलाई संयमता अपनाउन आह्वान गरेका छन्।

युद्धको औपचारिक घोषणा नभए पनि हालको अवस्थाले दक्षिण एसियामा गम्भीर सुरक्षा संकट सिर्जना गरेको छ। रणनीतिक विश्लेषकहरूका अनुसार यदि तनाव तुरुन्त नरोकिने हो भने, यो संकट पूर्ण युद्धमा परिणत हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार