झापा, वैशाख २५ । झापा जिल्लाको अर्जुनधारा नगरपालिका–८ स्थित क्षेत्रमा लागुऔषध बिक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी शनिश्वरेबाट खटिएको टोलीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले बुधबार राति १०:३० बजे अर्जुनधारा–८ मा खानतलासी गर्दा ३२ वर्षीय अर्जुन राजवंशीको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर (प्लास्टिक सहित ७३० मिलिग्राम, प्लास्टिक बाहेक ५०० मिलिग्राम), साथै घर बाहिर दाउरा राख्ने कटरामा लुकाएर राखिएको थप ब्राउन सुगर (प्लास्टिक सहित ३ ग्राम ६३० मिलिग्राम, प्लास्टिक बाहेक ३ ग्राम ९० मिलिग्राम), ९ वटा एम्पुल र नगद रु. २७,६७० फेला परेको प्रहरी स्रोतले जनाएको छ।
पक्राउ परेका राजवंशीलाई उक्त लागुऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।