भद्रपुर, झापा। भद्रपुर नगरपालिकाका १२ वटा निजी विद्यालयको समूह क्लस्टर भद्रपुरले शिक्षकहरूका लागि एक दिने प्रेरणा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। “संस्कारयुक्त शिक्षा आजको आवश्यकता” भन्ने मूल नारासहित आयोजना गरिएको उक्त तालिममा करिब ३०० शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता प्याब्सन कोशी प्रदेशका उपाध्यक्ष ईशुभ पाण्डेले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको उपस्थिति रहेको थियो। तालिमको सहजीकरण शिक्षा तथा अध्यात्म क्षेत्रमा गहिरो अनुसन्धान गरिरहेका अन्वेषकद्वय विवेक विनय र बद्री दाहालले गर्नुभएको थियो।

झापा प्याब्सन अध्यक्ष छत्र कार्कीले उद्घाटन मन्तव्यमा शिक्षा संस्थागत हुनुको महत्त्व दर्शाउँदै भने, “शिक्षा निजी वा सरकारी होइन, विधि र प्रक्रियामा आधारित हुनुपर्छ। जब विद्यालयले सामाजिक उत्तरदायित्व बोक्छ, शिक्षक–कर्मचारीको हित सुरक्षित हुन्छ, तब त्यो विद्यालय उत्कृष्टताको दिशामा अगाडि बढ्छ।”

नगर शिक्षा शाखा प्रमुख पवित्रा ढकालले विद्यालय शिक्षकहरूको कार्यशैलीले विद्यार्थीको भविष्य निर्धारण गर्ने बताउँदै शिक्षकको उत्तरदायित्व अझ सशक्त बन्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा क्लस्टर समूहका सदस्य सन्देश राईले स्वागत मन्तव्य दिनुभएको थियो भने सञ्चारकर्मी दिपेन्द्र पौडेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा क्लस्टर अन्तर्गतका विद्यालय सञ्चालक, प्याब्सन भद्रपुरका अध्यक्ष तथा नगर शिक्षा शाखाका कर्मचारीहरूको पनि उल्लेखनीय सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार