जन्म केवल जीवको आगमन होइन—यो वंशानुगत गुण र विगतका कर्मको समष्टिगत परिणाम हो। एकपटकको जन्म शून्यबाट हुँदैन। चालिस प्रतिशत वंशले दिएको स्वभाव, साठि प्रतिशत विगतका कर्मको बीज मिलेर मानिसको जीवन प्रारम्भ हुन्छ। यही गुण र कर्मले हामीलाई जीवनको मार्गमा डोर्याउँछ, जहाँ कहिले काँडै काँडा, कहिले फूलै फूल बिछाइएका हुन्छन्।
समाज परिवर्तनका सपना देख्ने, त्यसका लागि आफ्नो तन, मन, धन अर्पण गर्ने व्यक्तिहरूको पनि एकपल्ट आत्मा सुन्य अवस्थामा पुग्छ। यो त्यही क्षण हो, जब दिमाग एक–दुई मिनेट शून्य हुन्छ। यही क्षणमा यदि कसैले हात थाम्न सकेन, केही शब्द बोलेन, त त्यो शून्यता जीवनको अन्तिम मोड बन्न सक्छ।
यस्तै एउटा पीडादायक मोडको साक्षी बन्यो झापा बिर्तामोडका, समाजसेवा, खेलकुद, व्यवसाय, संस्थागत नेतृत्व—सबै क्षेत्रमा सफल र सम्मानित युवा बिनोद बस्नेतले आत्महत्या गरे। पूर्व बाणिज्य संघका अध्यक्ष, फुटबल संघका अगुवा, यामाहा शोरूमका प्रोप्राइटर, धेरै संघसंस्थाका अगुवा थिए उनी। समाजमा एक सफल र सम्पन्न व्यक्तिको रूपमा चिनिन्थे। तर त्यो बाहिरी सफलता, त्यो प्रतिष्ठा, त्यो सम्पन्नता पनि एक व्यक्तिको अन्तरद्वन्द्वको समाधान बनेन।
उनको आत्महत्या पश्चात सबैले सोधे—किन? कसरी? के कमी थियो?
कसरी यस्तो भयो?
उनी समाज रूपान्तरणमा पूर्णरूपले समर्पित थिए। तर समाजलाई दिने समयकै कारण, उनी आफ्नै घर, आफ्नी श्रीमती, आफ्नी छोरीको भविष्यप्रति सचेत हुन सकेनन्। उनी आफ्नो व्यवसायलाई सफल बनाउँदै थिए, तर त्यस सफलताको मूल्यमा परिवारका संवेदना र अपेक्षा ओझेलमा परे। यस्तो परिस्थिति केवल उनी एक्लैको होइन—सामूहिक रूपमा हामी सबैको असफलता हो।
आज समाजमा अति गरिबदेखि अति धनीसम्मका मानिसहरूले आत्महत्या गरेका उदाहरण प्रशस्त छन्। यो संकेत हो—धन, पद, प्रतिष्ठा, र सफलता आत्माको पीडालाई लुकाउन सक्दैन। न शीरमा पदक भएकाले मनको घाउ निको हुन्छ, न दरबारको धनले आत्माको तृष्णा मेटिन्छ। मानवीय सम्बोधन, भावनाको आदानप्रदान, र आत्मसाथीपना नै जीवनको साँचो सुरक्षा हो।
बिनोद बस्नेतज्यू जस्ता व्यक्तिहरूले पद, प्रतिष्ठा, शक्ति सबै पाए—तर के पाए माया, सहानुभूति र आत्मिक सम्बोधन?
श्रीमतीको आँखामा झरेको आँसु उनको आत्माले देख्न पाएको भए, छोरीको भविष्यतिर ध्यान दिन सक्ने समय पाएको भए, के उनी यो निर्णय गर्थे?
समाधान के हो?
१. मनका कुरा सुनौं: हामीलाई ‘सन्चो छैन’ भन्ने बोल्न दिने वातावरण बनाऔं। मनको उपचार पनि उतिकै महत्वपूर्ण छ जति शरिरको।
सामाजिक सम्पर्क कायम गरौं: सबैलाई सुनिदिने, समय दिने, न्यानो स्पर्श दिने समुदाय बनाऔं।
धार्मिक/आध्यात्मिक मार्गदर्शन: जीवनका गहिरा प्रश्नहरूको उत्तर आत्मामा खोज्न प्रेरणा दिनुपर्छ, मृत्युमा होइन।
परिवार पहिलो हो: सामाजिक कर्मका बीचमा पनि श्रीमती, छोरी, छोरा, आमाबाबुलाई समय दिन सिक्नुपर्छ।
साक्षरता मात्र हैन, संवेदनशीलता पनि बढाऔं: पढेलेखेकाले आत्महत्या गरिरहेका छन् भने हाम्रो शिक्षा प्रणालीमा आत्मिक पक्ष कमजोर छ। जीवन मूल्य सिकाउने शिक्षा आवश्यक छ।
निष्कर्षमा, आत्महत्या गर्नेहरू दोषी हैनन्, उनीहरू पीडामा डुबेका संवेदनशील आत्माहरू हुन्। हामी समाजले समयमै नबुझ्दा, नसुनिँदा उनीहरू यस्तो निर्णयमा पुग्छन्। अब समय आएको छ—मनको बोझ कम गर्ने, एकअर्काको आत्मा सुन्ने, र मृत्युको बन्द ढोका अगाडि जीवनको उज्यालो झ्याल खोल्ने।
लेखक– नारायण बहादुर बस्नेत
मेचीनगर – ८ झापा