झापा, झापा गाउँपालिका – झापा गाउँपालिकामा यस वर्ष करिब ७ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको छ। गाउँपालिकाको कृषि शाखाका अनुसार यो खेती पछिल्लो समय उल्लेखनीय रूपमा वृद्धि भएको हो।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जु देवी थपलियाका अनुसार किसानलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित पालिकाले मल, विउ, विषादी, कृषि औजार तथा विद्युत महसुलमा अनुदान दिँदै आएको छ। उनले निर्वाचित अध्यक्ष जयनारायण शाहद्वारा अघि बढाइएको कृषि नीतिलाई निरन्तरता दिँदै कृषिमा प्राथमिकता दिइएको बताइन्। तर, मलको अभाव कायम रहेकोप्रति उनले दुःख व्यक्त गरिन्।

प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले मकै, धान, केरा तथा तरकारी खेती गर्ने किसानहरूलाई सिचाइको लागि पालिकाले ८० प्रतिशत विद्युत महसुल तिरिदिने जानकारी दिए। साथै, खेतसम्म विद्युत पोल, तार तथा भोल्टेज सुधारका कार्यक्रमसमेत सञ्चालन गरिएको उनले बताए। “यसले कृषकलाई आत्मनिर्भर बनाउन टेवा पुर्‍याएको छ,” उनले भने।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापा गाउँपालिकालाई मकै पकेट जोनको रूपमा घोषणा गरिएको छ। पालिकाले किसानलाई आवश्यक मल, विउ र औजारमा अनुदान दिँदै आएको छ।

कृषि शाखाका अनुसार मकै पकेट जोन घोषणा भएसँगै मकै रोप्ने र मकै छोडाउने मोटर, मेसिन, स्प्रे ट्याङ्की, मकै सुकाउने झुल र सिचाइको लागि मोटरसहितका उपकरण अनुदानमा उपलब्ध गराइएको छ। शाखाकी नायब प्राविधिक सहायक रिता बर्देवा अनुसार पालिकाभित्रका ९२ वटा कृषि समूहलाई तालिम र अनुदान प्रदान गरिएको छ।

शाखाको अध्ययन अनुसार, प्रति हेक्टर कम्तीमा १०० क्विन्टल मकै उत्पादन भइरहेको छ। ७२५० हेक्टर जमिनमा करिब ७ लाख २५ हजार क्विन्टलभन्दा बढी मकै उत्पादन हुने अनुमान गरिएको छ।

तर, मकै उत्पादनमा पालिकाको लगानी बढिरहेका बेला खेतीमा भारतीय नागरिकहरूको वर्चस्व देखिन थालेको स्थानीयहरूको भनाइ छ। उनीहरूका अनुसार पालिकाभित्रका किसानहरूले आफ्नो जमिन भारतीय व्यापारीलाई ठेक्कामा दिँदा अधिकांश आम्दानी भारततर्फ गइरहेको छ। यसले पालिकाले गरेको लगानीको प्रभाव स्थानीयस्तरमा नदेखिने चिन्ता उत्पन्न भएको छ।

यतिखेर किसानहरू मकै थन्क्याउने र सुकाउने कार्यमा व्यस्त छन्। झापा रोडका धेरै स्थानहरूमा मकै सुकाइएका देखिन्छन्, जुन सिधै व्यापारीले संकलन गर्ने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार