झापा, जेठ ७ । पछिल्लो चार वर्षको अवधिमा नेपालमा चट्याङबाट २३७ जनाको मृत्यु भएको छ भने ९०८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, देशभर चट्याङका १,११८ वटा घटना भएको र १,६०७ परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्।
प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठका अनुसार चट्याङको उच्च जोखिम झापा, उदयपुर, मकवानपुर लगायत जिल्लामा देखिएको छ। कोशी प्रदेशदेखि कञ्चनपुरसम्म र हुम्लादेखि धनुषासम्म चट्याङको जोखिम क्षेत्र फैलिएको छ। चट्याङको जोखिमका आधारमा नेपाल विश्वमा पाँचौँ स्थानमा पर्छ।
कोशी प्रदेशमा मात्रै २९५ वटा चट्याङका घटनामा ५१ जनाको मृत्यु र ८४ जना घाइते भएका छन्। यस प्रदेशमा ३६६ घर प्रभावित भएका छन् भने रु १ करोड ६० लाख बराबरको धनमाल क्षति भएको छ। लुम्बिनी प्रदेशमा १८० घटनामा ५४ जनाको मृत्यु, १६५ जना घाइते र २७६ परिवार प्रभावित भएका छन्। लुम्बिनीमा रु ३ करोडभन्दा बढीको भौतिक क्षति भएको छ।
अन्य प्रदेशहरूमध्ये सुदूरपश्चिममा ३५, मधेसमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाको ज्यान गएको छ। घाइते हुनेको संख्या कर्णालीमा २०७, सुदूरपश्चिममा १५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ रहेको छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलका अनुसार नेपालमा चट्याङ विपद् जनधनको दोस्रो ठूलो कारण हो। प्रि–मनसुनदेखि मनसुन अवधिमा वायुमण्डलको अस्थिरताका कारण चट्याङका घटना बढ्ने गरेका छन्।
“खुला स्थानमा काम गर्ने व्यक्तिहरू चट्याङबाट बढी प्रभावित छन्। विशेषगरी खेतमा काम गर्ने, घाँस काट्ने र गाईबस्तु चराउने बेला मध्याह्नपछि चट्याङको जोखिम बढी हुने देखिन्छ”, सिग्देलले बताए। उनका अनुसार सावधानी अपनाएमा चट्याङबाट हुने मानवीय क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिन्छ।
सरकारले चट्याङ पूर्वानुमान गर्न उदयपुर, पाल्पा र सुर्खेतमा राडार उपकरण जडान गरे पनि ती उपकरणहरू बिग्रिएका कारण हाल सञ्चालनमा छैनन्। यी राडार मर्मत गरी पुनः सञ्चालनमा ल्याएमा आधा घण्टा अघिसम्म चट्याङको जानकारी प्राप्त गर्न सकिने विज्ञ सिग्देलले जानकारी दिए।
उनले घर तथा सार्वजनिक संरचनामा चट्याङ रोधी यन्त्र जडानलाई अनिवार्य बनाउनुपर्नेमा पनि जोड दिए। स्थानीय तहलाई स्रोतसाधन परिचालन गरेर चट्याङ सम्बन्धी सचेतना टोलटोलसम्म पुर्याउनुपर्ने सुझाव उनले दिएका छन्।