सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–८ स्थित एक उखुबारीमा एक युवकको सडिसकेको अवस्थामा शव फेला परेको छ। शवको सनाखत चन्द्रनगर गाउँपालिका–१ किसनपुर निवासी २८ वर्षीय अरविन्द कुमार पण्डितको रुपमा भएको छ। उनका दाजु अशोक कुमार पण्डितले शवको पहिचान गरेका हुन्।

अरविन्द वैशाख २४ गतेदेखि घरबाट बेपत्ता थिए। उनको हत्या गरेको अभियोगमा प्रहरीले ईश्वरपुर नगरपालिका–६ चिरानटोलका ६ जनालाई पक्राउ गरेको सर्लाही जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

पक्राउ पर्नेहरूमा ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, २९ वर्षीय मोस्तकिम अन्सारी, २५ वर्षीया नजिमा खातुन, ४० वर्षीय सुयब अन्सारी, २५ वर्षीय कोनुर आलम अन्सारी र ५४ वर्षीय सलाउद्दिन अन्सारी छन्।

प्रहरीका अनुसार, अरविन्दले मोस्तकिम अन्सारीकी पत्नी नजिमा खातुनलाई भगाएका थिए। नजिमा चैत १९ गते राति बेपत्ता भएकी थिइन् भने चैत २६ गते मोस्तकिमले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए। अनुसन्धानका क्रममा नजिमा र अरविन्द भारतमा भेटिएका थिए र वैशाख १९–२० गते नेपाल फर्किएका थिए।

नेपाल फर्किएपछि नजिमा समाजको सहमतिमा आफ्नै श्रीमान् मोस्तकिमसँग बस्न थालिन्। तर अरविन्द पुनः नजिमाको सम्पर्कमा रहँदै घरमा आउजाउ गर्न थालेपछि मानसिक तनावमा परेकी नजिमासहित अन्य अभियुक्तहरूले हत्या योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

वैशाख २८ गते बिहान ८ बजे नजिमाले अरविन्दलाई फूलजोर बाबा मन्दिर नजिक बोलाएर खोला किनारतर्फ लगिन्। अन्य अभियुक्तहरूले उनलाई पछ्याएर बिहान ९ बजे हत्या गरी शव सिसौको रुखमुनि लुकाएका थिए। तर घटनाको भण्डाफोर हुने डरले वैशाख २९ गते राति शव उखुबारीमा फालिएको थियो।

प्रहरीले जेठ २ गते अभियुक्तहरूलाई पक्राउ गरेको हो। अनुसन्धानका क्रममा अभियुक्त मोहम्मद हुसेन मोमिनको खुट्टामा मृतकले लगाउने चप्पल भेटिएको पुष्टि भएको प्रहरीको भनाइ छ।

पक्राउ परेका सबै अभियुक्तलाई सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार