झापा। राजस्व छलीको आशङ्कामा आइतबार साँझ नेपाल प्रहरीले बिर्तामोड–५ बाट नियन्त्रणमा लिएका तीन वटा भारतीय नम्बर प्लेट भएका कन्टेनरहरू वैध रुपमा भन्सार प्रक्रिया पूरा गरी नेपाल प्रवेश गरेका भएको पुष्टि भएपछि घटनाले नयाँ मोड लिएको छ।
उक्त कन्टेनरहरूमा चीनको वुहानबाट आयात गरिएका ट्र्याक कम्बाइन हार्भेस्टर मेसिन रहेका थिए, जसलाई कोलकाताको हल्दिया पोर्ट हुँदै मेची भन्सार कार्यालयमार्फत झिकाइएको थियो। कनकाई नगरपालिका–५ स्थित नोक्मा कृषि फर्मद्वारा अंकिता ट्रेडर्स मार्फत ल्याइएका WV4L-2.6 मोडेलका ती मेसिनहरूको कुल मूल्य २ करोड ९ लाख ५९ हजार रुपैयाँ बराबरको रहेको छ।
नेपाल सरकारले कृषिजन्य उपकरणहरूमा भन्सार छुट दिँदै १% महसुल तिर्ने व्यवस्था गरेको छ। सोही अनुसार २ लाख १४ हजार रुपैयाँ भन्सार बुझाएर उपकरणहरू नेपाल भित्र्याइएको भन्सार कार्यालयले जानकारी दिएको छ।
तर, झापा प्रहरीले गृह मन्त्रालयबाट प्राप्त निर्देशन र “कम भन्सार तिरेर महँगो सामान भित्र्याइएको” भन्ने सूचना प्राप्त भएपछि ती कन्टेनरहरू नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाएको थियो। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा ३ करोड ६१ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको दाबी गरिएको थियो, जुन पछिल्ला विवरणहरूबाट असत्य प्रमाणित भएको छ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार ती कन्टेनरहरू VCTS प्रणालीमार्फत भन्सारको निगरानीमा नेपाल प्रवेश गरेका थिए। “भन्सार प्रक्रिया पूरा नगरी सामान प्रवेश असम्भव छ,” उनले स्पष्ट पारे।
व्यवसायीहरू भने कानुनी प्रक्रिया पूरा गर्दा पनि सुरक्षा संयन्त्रबाट अनावश्यक सास्ती भोग्नुपरेको गुनासो गर्छन्। अंकिता ट्रेडर्सका सञ्चालक कृष्णकान्त खनियाले भने, “म २८ वर्षदेखि भन्सार एजेन्ट हुँ, यस्तो घटना पहिलोपटक भोगें। सम्पूर्ण प्रक्रिया पूरा गरे पनि यसरी विवादमा पर्नु दुर्भाग्यपूर्ण हो।”
यस घटनाले प्रहरी प्रशासन, भन्सार प्रणाली र व्यवसायीबीचको समन्वय अभाव उजागर गरेको छ। कानुनी प्रक्रिया नबुझी गरिने निर्णयले व्यवसायी, नीति निर्माताहरू र सर्वसाधारणको विश्वासमा असर गर्न सक्छ भन्ने कुरा पनि प्रष्ट देखिएको छ।
विश्लेषकहरूको भनाइमा, यस्ता संवेदनशील विषयमा संयमित ढंगले अनुसन्धान गरी मात्र कारबाही अघि बढाउनु उपयुक्त हुने थियो। अब सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र सूचनाको यथार्थ परीक्षण अपरिहार्य देखिन्छ।