काठमाडौं, जेठ ६ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा आरोहणको क्रममा ६४०० मिटरको उचाइमा पुगेका छन्। यस उचाइमा पुग्दै उहाँले आफ्नै अघिल्लो हिमाल आरोहणको रेकर्ड पनि पार गरेका छन्। यसअघि उहाँले लोबुचे हिमाल (६१४५ मिटर) आरोहण गरेका थिए।
शर्माले आइतबार राति सगरमाथाको आधार शिविर (बेस क्याम्प) बाट यात्रा सुरु गरेका थिए। सोमबार बिहान उज्यालो हुने बेलासम्म ‘खुम्बु आइसफल’ पार गर्दै सबैभन्दा जोखिमपूर्ण चरण पार गरेका उनले त्यसपछि Camp-1 मा एक रात बास बसेका थिए। अहिले उहाँ Camp-2 मा पुगिसकेका छन्।
आज जेठ ६ गते उहाँका लागि भावनात्मक दिन पनि हो — यो दिन उहाँकी जन्मदिने आमा सावित्री शर्माको जन्मदिन परेको छ। उच्च हिमाली बिन्दुबाट आमाप्रति श्रद्धा प्रकट गर्दै शर्मा लेख्छन्, “यो उचाइबाट असिम श्रद्धा, असिम स्मृति, अटुट प्रेम।”
उहाँले सामाजिक सञ्जालमा साझा गरेको तस्बिरमा आफ्ना पिता पर्शुराम शर्मा, जन्मदिने आमा सावित्री शर्मा र दूध पियाउनुहुने आमा देउकुमारी श्रेष्ठ पनि फ्रेममा देखिन्छन्। यात्राका क्रममा पनि परिवारप्रतिको माया र सम्मान प्रकट गर्नु शर्मा आफ्नो सार्वजनिक छविको एउटा संवेदनशील पक्ष हो भन्ने प्रमाण हो। सगरमाथा आरोहण अभियानमा सहभागी भएका शर्मा आगामी दिनमा शिखरतर्फ आरोहण जारी राख्ने तयारीमा छन्।