नेपाली समाजमा जब परिवारमा पहिलो सन्तानको रूपमा छोरो जन्मिन्छ, त्यस दिन घरमा दीपावलीझैँ उज्यालो छाउँछ। बाबा–आमाको अनुहारमा गर्व मिसिएको हर्ष झल्किन्छ, मिठाइ बाँडिन्छ, छिमेकी र आफन्तबाट बधाइको वर्षा हुन्छ। अनि घरभित्र एक स्वर गुञ्जिन्छ —
“अब त हाम्रो दुःखको दिन गए!”
त्यो छोटो उमेरको निर्दोष बालकप्रति यति धेरै सपना गाँसिन्छन् कि, उसले हुर्किएपछि जीवनको भार बोक्न बाध्य हुन्छ।
समाजले छोरालाई मात्र उत्तराधिकारी ठान्ने सोच, सन्तानलाई बुढेसकालको सहारा मान्ने परम्परा, अनि अभिभावकले आफ्नै भविष्य सन्तानमा अड्याउने संस्कार हाम्रो घर–घरमा गहिरो रूपमा बसिसकेको छ। छोरा हुर्कन्छ, पढ्छ, बयस्क बन्छ। जब ऊ अभिभावकको परिकल्पनाभन्दा फरक बाटो रोज्न थाल्छ, चिन्ताहरूको श्रृंखला सुरू हुन्छ।
अनि, आमाबाबुको निर्णय आउँछ —
“अब बिहे गरिदिऔं, बुहारी आएपछि घर सम्हालिन्छ।”
विवाहलाई समाधान ठान्ने सोच अझै बलियो छ। तर प्रश्न उठ्छ —
के साँच्चै विवाह समाधान हो त?
छोरा सोच्छ — “अब बुहारी आएपछि सबै ठीक हुन्छ।”
बुहारी भन्छिन् — “अब म प्राथमिकतामा हुनेछु।”
तर केही समयमै व्यवहारमा चिसोपन आउँछ, दूरी बढ्छ।
खाने भाँडा छुट्टिन्छ, गास छुट्टिन्छ, अन्ततः घर नै छुट्टिन्छ।
“बाक्लो दाल खाएर छुटिने” पुरानो नेपाली उखान फेरि सार्थक हुन्छ।
त्यसैले सोचौं —
के विवाह समस्याको समाधान थियो त? कि, त्यो समस्याको नयाँ अध्याय?
यसै बिन्दुबाट हाम्रो पारिवारिक संरचनाले चरमराउन थाल्छ।
छोरा–बुहारीबीचको दूरी, जिम्मेवारीबाट पलायन, आमाबाबुको एक्लोपन र वृद्धावस्थाको पीडा — यी सबै एकसाथ प्रकट हुन्छन्।
हामीले बुझ्नुपर्ने कुरा के हो भने —
छोरा वा छोरी जन्मनु ‘सुखको साक्षात्कार’ होइन, त्यो त ‘जिम्मेवारीको आरम्भ’ हो।
हाम्रो दायित्व के हो भने —
सन्तानलाई शिक्षित, सुसंस्कारयुक्त र जिम्मेवार नागरिक बनाउनु।
तर नेपाली अभिभावकको सोच अझै पनि यहीँ अड्किएको देखिन्छ —
“छोरा पायौँ, अब हामीलाई हेर्ने भयो।”
“बुहारी आएपछि घर राम्रो हुन्छ।”
तर सन्तान त हामीले गरेका कर्मको प्रतिफल हुन्।
तिनीहरूको जीवनदृष्टिकोण भने अघिल्लो जन्मको चालिस प्रतिशत संस्कार र वंशानुगत असर, अनि चालु जीवनको साठी प्रतिशत विचार, संस्कार र शिक्षाको संयोजन हो।
त्यसैले —
पहिले आफ्नै कर्म सुधारौं, सोच परिष्कृत गरौं।
बुढेसकालमा सुखी जीवनको लागि स्वास्थ्य, आर्थिक स्थिति र आत्मबलको योजना बेलैमा गर्नुपर्छ।
सन्तान सहायक होलान् — तर त्यो उनीहरूको सद्भावमा भर पर्छ, हाम्रो अधिकारमा होइन।
अझ एक गम्भीर यथार्थ:
आजका युवा भोलिका अभिभावक हुन्।
तर हिजोका अभिभावकहरू अहिले मौन पीडामा छन्।
उनीहरूले आफ्नो जीवन सन्तानकै लागि समर्पण गरे — आशामा, विश्वासमा।
तर आज उनीहरूका आँखामा केवल प्रश्नहरू छन्।
“हामीले के कम गर्‍यौँ?”
“अब बाँकी जीवन कसरी काट्ने?”
श्रीमान् र श्रीमती एक–अर्काका परिपूरक हुन्,
तर सन्तान भने कहिलेकाहीँ साथी कम र ‘उपेक्षा’का कारण बढी बनिरहेका छन्।
प्रत्येक घरमा हामीले पीडित अभिभावक देखेका छौं।
अहिलेको आवश्यकता के हो भने —
त्यस्ता अभिभावकहरूको पीडालाई कम गर्न सक्ने व्यावहारिक उपाय खोज्नु।
समाधानका केही पक्ष:
सामाजिक सुरक्षा प्रणाली बलियो बनाउनु।
(स्वास्थ्य, पेंसन, सामुदायिक वृद्ध सेवा)
संवाद र सम्मानको संस्कार विकास गर्नु।
(सन्तानले मात्र होइन, समाजले पनि)
आत्मनिर्भरता र पूर्वतयारीको चेतना फैलाउनु।
(बचत, आत्मबल र वृद्धकालको योजना)
सामूहिक चेतनाको अभियान चलाउनु।
(घर–घरमा सम्बन्ध सुधार र जिम्मेवारी बाँडफाँड)
निष्कर्ष:
छोरा जन्मनु, बिहे गर्नु वा परिवार विस्तार गर्नु भन्दा पनि ठूलो कुरा हो —
सोच विस्तार गर्नु।
जीवनको उत्तरार्द्ध सजाउन आशा मात्र होइन, तयारी पनि चाहिन्छ।
अभिभावकले आत्मनिर्भर बन्ने, सन्तानमा संस्कार दिने र यथार्थ बुझ्ने चेतनाले मात्र हाम्रो समाज सुदृढ र सन्तुलित बन्न सक्छ।
अनि तबमात्र —
छोरा जन्मँदा बलेको दियो साँच्चै जीवनभर बलिरहन्छ।
#viralpost2025 
लेखक :- नारायणबहादुर बस्नेत
              मेचिनगर – ८ झापा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार