तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत फेला

भूतपूर्व सभामुख कृष्ण बहादुर महरामाथि बलात्कारको आरोप लगाउँदै चर्चामा आएकी रोशनी शाही मृत अवस्थामा फेला परेकी छन्। उनी आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित वृहस्पति मार्गको डेरामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए।

शाहीको शव उनी बस्दै आएको कोठामा फेला परेको हो। प्रहरी अहिले घटनास्थलमा अनुसन्धानको लागि उपस्थित भइसकेको छ भने उनका श्रीमान विराटनगरमा रहेकाले आउन लागेको बताइएको छ।

२०७६ साल असोजमा संसद सचिवालयमा कार्यरत रहँदा शाहीले तत्कालीन सभामुख महरामाथि बलात्कार प्रयासको आरोप लगाएकी थिइन्। उनका अनुसार महरा मादक पदार्थ सेवन गरी आफूसँग जबरजस्ती गर्न खोजेका थिए। उक्त घटनाले नेपाली राजनीति र समाजमा ठूलो बहस र चासोको विषय बनाएको थियो।

शाहीको उजुरीपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए र त्यसपछि पक्राउ परेका थिए। मुद्दा काठमाडौं जिल्ला अदालतमा पुगेको थियो। तर, अदालतमा बयान दिने क्रममा शाहीले प्रारम्भिक आरोप फेरेकी थिइन्, जसले मुद्दाको धारलाई निर्णायक मोडमा पुर्‍यायो। अन्ततः २०७६ फागुनमा अदालतले महरालाई सफाइ दिँदै रिहा गरेको थियो।

उनको मृत्युका कारण र अवस्था अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार