झापा, जेठ ११ – अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका नौ जना प्रतिवादीहरूलाई झापा प्रहरीले विशेष अपरेसनमार्फत नियन्त्रणमा लिएको छ। २०८२ साल जेठ ११ गते साँझ ४ बजेपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा खोजीकार्य सञ्चालन गर्दै फरार प्रतिवादीहरूलाई पक्राउ गरी झापा जिल्ला अदालतमा उपस्थित गराएको हो।
प्रहरीका अनुसार, ती सबै प्रतिवादीहरूलाई अदालतको फैसलाअनुसार जरिवाना दाखिला गराई रिहा गरिएको छ। पक्राउ परेका प्रतिवादीहरू लागुऔषध ओसारपसार, ठगी, सट्टाबाजी लगायतका मुद्दामा संलग्न भई अदालतबाट कैद तथा जरिवानाको सजाय पाएका थिए।
पक्राउ परेका प्रतिवादीहरू निम्नानुसार छन्:
किरण बेघा (३१), झापा कमल गाउँपालिका–१, जसलाई २०८१ साल भदौ १६ गतेको फैसलाले लागुऔषध सम्बन्धी मुद्दामा ६ महिना कैद र रु २,००० जरिवाना सुनाइएको थियो। हरेन्द्र प्रसाद कुर्मी (५३) र ईद्रिश मियाँ (५२), दुवै पर्सा जिल्ला घोबिनी गाउँपालिका–५ निवासी, २०७३ साल असार १२ गतेको फैसलाबाट ठगी मुद्दामा एक–एक वर्ष कैद र रु १२,५०० जरिवानाको सजाय पाएका थिए।
त्यसैगरीअरबिन भट्टराई (२६), झापा कचनकवल गाउँपालिका–७ निवासी, २०८१ साल कात्तिक २१ गतेको फैसलामा लागुऔषध मुद्दामा १ महिना कैद र रु २,००० जरिवानाको सजाय पाएका थिए।
ओम पोर्तेल उर्फ ओम ब. विक (२४), झापा मेचिनगर नगरपालिका–७ निवासी, २०८० साल असोज २३ गतेको फैसलामा लागुऔषध मुद्दामै रु २०० जरिवानाको सजाय पाएका थिए।
त्यस्तै सत प्रकाश साह (२६), झापा दमक नगरपालिका–८, राजु श्रेष्ठ (२७), दमक नगरपालिका–७, अरुण कार्की (३०), कमल गाउँपालिका–२ र पिताम्बर ध्वज थापा (३३), गौरादह नगरपालिका–८ निवासी, सबैलाई २०८० साल मंसिर २० गतेको फैसलाले सट्टाबाजी मुद्दामा ३–३ महिना कैद र रु ४,०००–४,००० जरिवानाको सजाय सुनाइएको थियो।
झापा प्रहरीले फैसला कार्यान्वयनमा निरन्तर सक्रियता देखाउँदै आएको छ। यसअघि फरार रहेका प्रतिवादीहरूलाई पत्ता लगाई कानुनी कारबाही प्रक्रियामा ल्याउनु प्रहरीको उच्च प्राथमिकतामा परेको जनाइएको छ।