जिल्ला विपद् व्यवस्थापन समिति झापाको बैठक झापाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोपाल कुमार अधिकारीको अध्यक्षतामा आज सम्पन्न भएको छ ।
बैठकमा पालिकाका प्रमुख/अध्यक्षहरू, राजनीतिक दलका जिल्ला प्रमुख एवं प्रतिनिधिहरू, जिल्ला सुरक्षा निकायका प्रमुखहरू, एशियन हाइवे लगायत अन्य सडक निर्माण आयोजनाका प्रतिनिधिहरू, सरोकारवाला सरकारी कार्यालय प्रमुखहरू लगायतका जिम्मेवार व्यक्तित्वहरूको सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला सभापति लोकराज ढकालले बताउनुभयो।
बैठकमा विपद् व्यवस्थापन तथा क्षति न्यूनीकरणमा देखिएका समस्या र चुनौतीहरू, तत्काल गर्नुपर्ने कार्यहरू, मौसमजन्य विपद्को पूर्वानुमान, निर्माणाधीन एशियन हाइवेबाट हुन सक्ने सम्भावित जोखिमहरू लगायत विविध विषयमा विस्तृत प्रस्तुतिकरणसहित छलफल गरिएको थियो।रेडक्रस झापाको प्राविधिक सहयोगमा तयार गरिएको “झापा जिल्लाको आपतकालीन मनसुनजन्य विपद् प्रतिकार्य कार्ययोजना” प्रजिअ अधिकारीले बैठकमा प्रस्तुत गर्दै अनुमोदन गराइएको सभापति ढकालले जानकारी दिनुभएको छ।
हिजो मात्रै प्रजिअ अधिकारीकै नेतृत्वमा जिल्लाका अति विपद् जोखिम क्षेत्रहरूको स्थलगत अनुगमन र भ्रमणसमेत गरिएको थियो। उक्त भ्रमणबाट प्राप्त सूचनाहरू कार्ययोजना निर्माणमा उपयोगी भएको जनाइएको छ।