झापा, मेचीनगर , जेठ १७ । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ स्थित कालिखोला क्षेत्रमा पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। हाल एसियन हाईवे अन्तर्गत निर्माणाधीन अवस्थामा रहेको उक्त सडकखण्डमा बिहान परेको अविरल वर्षाका कारण कालिखोलाको डाइभर्सन बगाएपछि यातायात ठप्प भएको हो।
डाइभर्सन बगाएसँगै राजमार्ग प्रयोगमा कठिनाइ भएपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सडक निर्माणमा संलग्न कन्ट्रक्सन कम्पनीका प्रतिनिधिहरूसँग समन्वय गरिरहेको जानकारी दिएको छ।
यातायात अवरुद्ध भएपछि सवारीसाधनहरूलाई सोही स्थानको पश्चिमपट्टि कालिखोला हुँदै शान्तिगाउँ, वडा कार्यालय मार्ग हुँदै काँकरभिट्टा बसपार्कसम्मको वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ।
सुरक्षा निकाय र निर्माण कम्पनीको प्रयासमा यथाशीघ्र सडक पुनः सञ्चालनमा ल्याउने पहल भइरहेको बताइएको छ। यात्रुहरूलाई सावधानीपूर्वक यात्रा गर्न र सूचना अनुसार मार्ग परिवर्तन गर्न प्रशासनले आग्रह गरेको छ।