पर्सा, जेठ १८ । पर्सा जिल्लामा पछिल्लो समय बढ्दै गएको मोटरसाइकल चोरीका घटनाहरूलाई नियन्त्रणमा लिन सक्रिय भएको प्रहरी टोलीले हालै दुई छुट्टाछुट्टै घटनामा संलग्न दुई जना अभियुक्तलाई पक्राउ गरेको छ।
वि.सं. २०८२ साल वैशाख २३ गते विहान ४:०० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१३ स्थित मुर्ली नयाँ टोलमा पार्क गरिएको मधेश प्रदेश ०३–०२७ प ५५५५ नम्बरको १६० CC क्षमताको NS मोटरसाइकल चोरी भएको विवरण प्राप्त भएपछि पीडित सरजा खातुनको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले अनुसन्धान थालेको थियो। अनुसन्धानको क्रममा वि.सं. २०८२ साल जेठ १६ गते सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. ४ निवासी २१ वर्षीय राधेश्याम यादवलाई उक्त मोटरसाइकलसहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको छ।
त्यस्तै अर्को घटनामा, वि.सं. २०८२ जेठ १७ गते साँझ ४:३० बजे वीरगञ्ज महानगरपालिका वडा नं. ४ अमरचोकस्थित प्रमोद प्रसाद साहको नाममा दर्ता गरिएको प्रदेश २–०३–०२२ प २७७६ नम्बरको कालो-रातो रंगको १५० CC को पल्सर मोटरसाइकल चोरी भइरहेको अवस्थामा प्रहरीले अर्को अभियुक्तलाई समेत नियन्त्रणमा लिएको छ। उक्त मोटरसाइकल वीरगञ्जकै घर अगाडि पार्क गरिएको अवस्थामा बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं. १ निवासी २५ वर्षीय रूपेश चौधरीले लक तोडी चोरी गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
हाल दुवै अभियुक्तलाई अदालतबाट पाँच दिनको म्याद थप लिई चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीको सक्रियताले चोरी नियन्त्रणमा मद्दत पुग्ने विश्वास जनाइएको छ।