झापा, दमक । झापा जिल्ला, दमक नगरपालिका वडा नं. ४ अडियामलस्थित आन्तरिक सडकखण्डमा गए राति करिब ०९:१० बजेको समयमा आएको हावा हुरी र पानीका कारण सातवटा बिजुलीका पोल ढलेका छन्। अडियामलबाट आम्दा अस्पतालतर्फ जाने भित्री सडकखण्डमा पोल ढल्दा बाटो पूर्णरूपमा अबरुद्ध भएको छ।
बिजुलीका पोल ढल्नासाथ सो क्षेत्रको विद्युत आपूर्ति समेत पूर्ण रूपमा बन्द भएको छ। घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।
प्रहरी स्रोतका अनुसार विद्युत कार्यालय तथा स्थानीय जनप्रतिनिधिहरूलाई जानकारी गराइएको छ र थप बुझ्ने तथा समस्याको समाधान गर्ने प्रक्रिया जारी रहेको जनाइएको छ।
सडक अबरुद्ध हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ भने विद्युत अवरोधका कारण स्थानीय जनजीवन प्रभावित भएको छ। तत्कालै मर्मत तथा व्यवस्थापन कार्य अघि बढाइने जनाइएको छ।