हल्दीबारी। २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापाको एक विद्यालयमा अत्यन्तै गम्भीर लापरबाही भएको तथ्य बाहिर आएको छ। परीक्षा सुरु हुनुभन्दा २० दिनअघि मृत्यु भइसकेका एक विद्यार्थीको नाममा परीक्षाफल प्रकाशित गरिएको छ, जसमा उनी ‘पास’ देखिएका छन्।

झापा जिल्ला, बाह्रदशी गाउँपालिका–१ मा रहेको अमृत माध्यमिक विद्यालयका छात्र मानव गौतमको २०८१ फागुन १८ गते नै मृत्यु भएको थियो। तर, राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई नतिजामा मानव गौतम कार्यालय व्यवस्थापन तथा लेखा विषयमा १.६ GPA ल्याएर ‘पास’ भएको उल्लेख छ।

२०८१ सालको एसईई परीक्षा चैत ८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो। अर्थात्, विद्यार्थीको मृत्यु परीक्षा सुरु हुनुभन्दा २० दिनअघि भइसकेको हो। यस्तो अवस्थामा पनि उनी परीक्षा दिएको देखिनु, र ग्रेडसमेत प्राप्त गर्नु, राष्ट्रिय परीक्षा प्रणालीमै गम्भीर कमजोरी रहेको स्पष्ट संकेत हो।

विद्यालयका शिक्षक रामबहादुर बुढाथोकी भन्छन्,  “हाम्रो विद्यालयका धेरै विद्यार्थीहरूले मिहेनतपूर्वक परीक्षा दिए तर अपेक्षित नतिजा ल्याउन सकेनन्। तर जसले परीक्षा दिन पाएका नै थिएनन्, त्यही नाममा पास भएको देख्दा म पूर्ण आश्चर्यमा छु।”

स्थानीय अभिभावक तथा शिक्षकहरू यस विषयमा चकित छन्। कतिपयले यसलाई “सिस्टमको घोर लापरबाही” भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
यस्तो घटनाले एसईई नतिजाको विश्वसनीयता, शैक्षिक प्रणालीप्रतिको जनविश्वास, र परीक्षा बोर्डको पारदर्शितामा गम्भीर प्रश्न उठाएको छ।

अब शिक्षा मन्त्रालय र परीक्षा बोर्डलाई तत्काल स्पष्ट स्पष्टीकरण दिनुपर्ने, र यस्ता घटनाबाट भविष्यमा जोगिन सशक्त सुधार कदम चाल्नुपर्ने आवश्यकता महसुस गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार