झापा, मेचिनगर । लागू औषध ब्युरो नियन्त्रण काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले आज असार १७ गते अपराह्न ४:३० बजेको समयमा झापाको मेचिनगर नगरपालिका–६, पुरानो मेचिपुल नजिकै एक जनालाई लागू औषधसहित पक्राउ गरेको छ।
प्रहरी टोलीले भारतको पानिट्याङकीबाट नेपाल प्रवेश गर्दै गरेको प्र.१०१००२ ह ६५०० नम्बरको सिटी रिक्सालाई रोकी जाँच गर्ने क्रममा, चालक ३१ वर्षीय युवराज दर्जीलाई शंका लागि सोधपुछ तथा शरीर तलासी लिएको थियो।
जाँचका क्रममा उनले चलाउँदै ल्याएको रिक्साको अगाडिको सिसा जोडिने फ्रेमको तल्लो भागमा प्लास्टिकको पोका फेला परेको थियो। पोका खोली हेर्दा लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको र मान्यता प्राप्त डिजिटल तराजुबाट नापजाँच गर्दा उक्त पदार्थको तौल प्लास्टिकसहित ३ ग्राम र प्लास्टिक बाहेक २ ग्राम ११० मिलिग्राम रहेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले लागू औषधसहित उक्त सिटी रिक्सालाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।