मलेसिया । नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ।

शनिबार मलेसियाको युकेएम वाइएसटी ओभलमा सम्पन्न फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि उचालेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमै समेटिएको थियो। सस्तो लक्ष्य पछ्याउन ओर्लिएको नेपालले २९ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पार गर्‍यो।

नेपालका लागि जोई थापा अविजित २४ रन बनाउँदै संकटमोचक बने, जसले ५३ बलमा ३ चौका प्रहार गरे। उनीसँगै अभय यादवले अन्तिम ओभरको अन्तिम बलमा प्रहार गरेको छक्काले जित सुनिश्चित गराएको हो। उनले १२ बलमा १० रन बनाए।

नेपालले एक समय ५८ रनमै ५ विकेट गुमाएको अवस्थाबाट पुनरागमन गर्दै जित निकाल्न सफल भयो। श्रीवांश बजगाईले २०, शुभम खनालले १८, प्रसिद्ध जैसीले १७ र परिमार्जन यादवले १३ रनको योगदान दिए।

बलिङतर्फ सिंगापुरका लागि कपिस बेनकात्रामले ४ विकेट लिए।
युवान पाण्डेले २ विकेट, वेदांश गुप्ता र आकाश तेजाले समान १–१ विकेट हात पारे।

यसअघि, सिंगापुरका लागि रोहन अस्टिन अरुणले २३ रन बनाए।
कप्तान रियान नैकले १५ रन र वेदांश गुप्ताले १२ रन बनाए।
नेपालका बलरहरूले सिंगापुरका ब्याटरहरूलाई खुलाएर खेल्न दिएनन्।सुशील बहादुर रावल र अभय यादवले समान ३–३ विकेट लिए भने शुभम खनालले २ विकेट र कप्तान विपिन प्रसाद शर्माले १ विकेट लिएका थिए।

१२ ओभरमै सिंगापुर ६ विकेट गुमाएर ५३ रनमा झरेको थियो।
त्यसपछि १०० रनमाथि पुर्‍याउन वेदांश र आकाशले अन्तिम विकेटका लागि २५ रनको साझेदारी गरे।

खेलको अन्तिम घडीसम्म चुलिएको तनावपूर्ण क्षणमा पनि नेपाली टोलीले आत्मविश्वास गुमाएन। जोई र अभयको संयमित ब्याटिङले अन्ततः नेपालको झण्डा फेरि एक पटक शिखरमा फहरायो। तस्वीर: क्यान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार