झापा । झापामा एकै दिन शिवसताक्षी र बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् ।

जिल्लाको कनकाई पुलमा दुई वटा मोटरसाइकल जुध्द्धा एक किशोरीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका- ५ निवासी १८ वर्षीया जेसिका सिग्देल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका- १० स्थित कनकाई पुलमा बुधवार साँझ ७ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५४६३ नम्बरको मोटरसाइकलले साईकल यात्रीलाई ठक्कर दिई विपरीत दिशाबाट आइरहेको को ३१ प ९५२९ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मे ३ प ५४६३ नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका- ९ निवासी ४० वर्षीया रुद्रप्रसाद न्यौपानेको हात, ढाडमा चोट लागेको र सोही मोटरसाइकल पछाडि सवार जेसिका सिग्देलको दाहिने कानबाट रगत बग्दा गम्भीर घाइते भएका थिए ।

घाइते दुवै जनालाई बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको र जेसिकाको सोही अस्पतालमा उपचारको क्रममा राती सवा ८ बजे मृत्यु भएको डीएसपी रिजालले बताए । त्यस्तै को ३१ प ९५२९ नम्बरको मोटरसाइकल चालक दमक नगरपालिका-१ निवासी ४० वर्षीय सुरेश राई र सोही मोटरसाइकल पछाडि इलाम जिल्ला चुलाचुली नगरपालिका- ४ निवासी  २९ वर्षीय निश्चल चेमजोङ घाइते भएका थिए । घाइते दुवै जनाको टाउकोसहित हातखुट्टामा खुट्टामा चोट लागेको र उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । साइकल यात्री अर्जुनधारा नगरपालिका- ५ निवासी ६३ वर्षीय गङ्गा तामाङको दायाँ खुट्टामा सामान्य चोट लागेको र स्थानीय मेडिकलमा उपचार गरी घर फर्किसकेको प्रहरीले जनाएको छ । यता दुर्घटनामा परेका दुवै मोटरसाइकललाई अस्थायी प्रहरी चौकी माईधारले नियन्त्रणमा लिएको छ ।

उता बिर्तामोडमा बुधबार राती पौने १ बजे दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका- ५ निवासी २६ वर्षीय सागर घिमिरे रहेका छन् ।  पूर्व-पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड ३ मा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ५ प ५५६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १-०१-०१३ प ५१४० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा ५५६८ नम्बरको मोटरसाइकल चालक घिमिरे गम्भीर घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । उनलाई अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत्यु घोषित गरेका थिए ।

५१४० नम्बरको मोटरसाइकल भद्रपुर नगरपालिका- १० निवासी २९ वर्षीय सरोज बस्नेत र सोही मोटरसाइकल पछाडि सवार २८ वर्षीय सकिन न्यौपाने समेत गम्भीर घाइते भएका छन् । उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
1
+1
0
+1
12
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार