• नेपालमा शाहवंशीय राजाको उदय, शासनकाल,र अन्त्य कसरी भयो? फेरि राजालाई “राजा आउ देश बचाउ भनेर किन तानिदैछ ।

नेपालका शाहवंशीय राजाहरूको पुर्ख्यौली थलो भारतको हालको राजस्थान राज्यको चितौडगढ हो। चितौडगढका संस्थापक चन्द्रवंशी भट्टारक ऋषिराज राणाजी पछि यसै वंशका तेत्तिसौ राजा भूपति राणाजी रावका तीन छोरा उदयबम, फत्तेसिंह र मनमथ थिए भने सदल नाम गरेकी एक छोरी थिईन। उनी अति नै सुन्दरी हुनाले मुसलमान शासकले विवाह गर्न खोजे तर राजा भूपति राणाजी रावले विवाह गर्न नदिएपछि मुसलमान शासकले चितौडगढ आक्रमण गरि ध्वस्त पारे। राजा भूपति राणाजी राव छोरा फत्तेसिंह लगायत युद्धमा धेरै मारिए। छोरी सदल ले आत्महत्या गरिन। बचेका मानिसहरू मध्ये एक छोरा मनमथ उज्जैन गए। मनमथका कान्छा छोरा भूपाल राणाजी राव दाजु संग झगडा भै नमिलेपछि उज्जैन बाट उत्तरतर्फ नेपालको रिडी आईपुगे। नेपालमा यसरी शुरू भयो शाहवंशीय राजाहरूको उदय।

नेपाल एकिकरण हुनुअघि गोरखाका शाहवंशीय राजाहरूको शासन अवधि –
१ ) द्रव्य शाह :- वि.सं. १६१६ भाद्र २५ देखि १६२७ सम्म
२ ) पुरन्दर शाह :- वि.सं. १६२७ देखि १६६२ सम्म
३) छत्र शाह :- वि.सं. १६२७ देखि १६६३ सम्म
असामयिक रूपमा ज्यान गुमाएका। छत्र शाहले सात महिना मात्र राज गरे।
यिनी निसन्तान भएकोले राम शाह। राजा हुने अवसर पाएका थिए
४ ) राम शाह। :- वि.सं. १६६३ देखि १६९३ सम्म
५ ) डम्बर शाह :- वि.सं. १६९३ देखि १७०१ सम्म
६ ) कृष्ण शाह :- वि.सं. १७०१ देखि १७०७ सम्म
७ ) रूद्र शाह :- वि.सं. १७०७ देखि १७२८ सम्म
८ ) पृथ्वीपति शाह :- वि.सं. १७२८ देखि १७७३ सम्म

पृथ्वीपति शाहको छोरा वीरभद्र शाह युवराज अवस्थामा नै निधन भएको र उनका भाइहरू पनि राजा बन्ने प्रभावशालि नदेखिएकाले उनी पछि नरभूपाल शाह राजा बनेका हुन।

९ ) नरभूपाल शाह :- वि.सं. १७७३ देखि १७९९ सम्म

द्रव्य शाहले गोरखा राज्य वि.सं. १६१६ भाद्र २५ मा स्थापना गरेका थिए भने, यशोब्रम्ह शाहले लमजुङ राज्यको स्थापना गरेका हुन।नेपालमा यसरी शाहवंशीय राजाहरूको उदय भएको थियो। बाइसे पृथ्वीनारायण शाहहले वि.सं. १८०१ मा नुवाकोट माथि आक्रमण शुरू गरि विजय भएपछि वि.सं. १८२५ मा ईन्द्रजात्रामा कान्तिपुर विजय गरेपछि आधुनिक नेपालको निर्माण गरेका हुन। यही वर्ष देखि शाहवंशीय राजाहरूको शासन अवधि शुरूवात मानिन्छ
१० ) पृथ्वीनारायण शाह :- वि.सं. १७९९ – १८३१
११ ) प्रताप सिंह शाह :- वि.सं. १८३१ – १८३४
१२ ) रणबहादुर शाह :- वि.सं. १८३४ -१८५५
१३ ) गिर्वाणयुद्ध शाह :- वि.सं. १८५५ – १८७३
१४) राजेन्द्र विक्रम शाह :- वि.सं. १८७३ – १९०४

वि.सं. १९०३ भदौ ३१ गते कोतपर्व घटेको थियो उक्त घटनापछि जङ्गबहादुर राणा सत्तामा आएका थिए, त्यही दिन देखि नेपालमा १०४ वर्षको जहानीया राणा शासन शुरू भयो।
१५ ) सुरेन्द्र विक्रम शाह :- वि.सं. १९०४ – १९३८
१६ ) युवराज त्रैलोक्य विक्रम शाह राजकुमार मै मृत्यु
१७ ) पृथ्वी वीर विक्रम
शाह। :- वि.सं. १९३८ – १९६८
१८ ) त्रिभुवन वीर विक्रम
शाह :- वि.सं. १९६८ – २०११
१९ ) महेन्द्र वीर विक्रम
शाह :- वि.सं. २०११ – २०२८
२० ) वीरेन्द्र वीर विक्रम
शाह :- वि.सं. २०२८ – २०५८
२१ ) दीपेन्द्र वीर विक्रम
शाह :- ३ दिन अचेत अवस्थामा
२२ ) ज्ञानेन्द्र वीर विक्रम
शाह :- वि.सं. २०५८ – २०६५ /२/१५

राजा गिर्वाणयुद्ध शाहको पालामा नेपाल अंग्रेज युद्ध भएको थियो भने नेपाल सुगौली सन्धिमा हस्ताक्षर गर्न वाध्य भएको थियो। वि.सं. १८७२ मङ्सिर १९ मा सुगौली सन्धि हुँदा नेपालले आफ्नो एकतिहाई भूभाग गुमाउनु पुगेको थियो।
वि. सं. १९०३ देखि २००७ फागुन-७ को क्रान्ति सम्म देश जहानीया राणा शासनको नियन्त्रणमा थियो। राजा पृथ्वी वीर विक्रम शाहको मृत्यु पछि उनका पाँच वर्षिय छोरा त्रिभुवन उत्तराधिकारी ( राजा ) बनेका थिए। राणालाई शासन सत्ताबाट हटाउने उद्देश्यका साथ वि.सं.२००७ सालमा त्रिभुवन भारतीय राजदूतावासमा निर्वासन भएका थिए। यस्को प्रतिउत्तरमा त्रिभुवनका नाति ज्ञानेन्द्र लाई राणा सरकारले नेपालको नयाँ राजाको रूपमा नियुक्त गरेको थियो। नेपाली काङ्ग्रेसले गरेको क्रान्तिका आधारमा राणा शासनले दिल्ली सम्झौता गर्न वाध्य भयो। वि.सं. २००७ फागुन ७ को क्रान्ति सफल भए संगै राणा शासनको अन्त्य भई पुन: त्रिभुवन नेपालको राजा बनेका थिए। त्रिभुवनको मृत्य पछि राजा महेन्द्र ले वि.सं. २०१५ सालमा दुई तिहाइको नेपाली काङ्ग्रेसको सरकारलाई वि.सं. २०१७ पौष १ गते अपदस्थ गरि निर्दलीय पञ्चायत व्यवस्थाको शुरूवात गरेका थिए। वि.सं. २०४६ को जन आन्दोलन पछि वहुदलीय व्यवस्था शुरू भयो र देशमा नयाँ सम्बिधान बनाई लागु गरेको थियो। सम्बैधानिक राजतन्त्रात्मक राष्ट्रमा परिणत भएको थियो। वि.सं.२०५८ साल जेठ १९ गते राजा वीरेन्द्र र उनको वंश नास भएपछि तीन दिन अचेत अवस्थाका दीपेन्द्र लाई राजा घोषित गरियो उनको मृत्यु पश्चात वि.सं. २०५८ जेठ २२ गते राजसंस्थाको नियमअनुसार सबै राजनीतिक दलका प्रमुख र नेपालीले दाम चढाई राजा बनेका ज्ञानेन्द्र शाह वि.सं. २०६१ माघ १९ गते निर्वाचित सरकार भङ्ग गरि मन्त्रिपरिषदको अध्यक्ष बनि सत्ता आफ्नो हातमा लिएका थिए। यसैको विरुद्धमा दोस्रो जन आन्दोलन ०६२/०६३भएको थियो। उक्त दोस्रो जन आन्दोलन सफल भएपछि वि.सं. २०६३ जेठ १५ गते वि.सं. १८२५ मा कान्तिपुर विजय पश्चात आधुनिक नेपालको निर्माण भएको आधारमा २४० वर्षको नेपालमा राजतन्त्रको अन्त्य गर्दै नेपाल सङ्धीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको थियो।
वि .सं. २०४६ को जन आन्दोलनबाट प्राप्त प्रजातन्त्र ,०६२/०६३ को दोस्रो जन आन्दोलन पछि प्राप्त लोकतान्त्रिक गणतन्त्रमा पार्टीका प्राय ठूला नेता नै भ्रष्टाचारमा लिप्त भए, देशको राष्ट्रिय सम्पतिको दुरुपयोग गर्दै ललीता निवास बिक्री समेत गरे, यति ओम्नी, सक्कली नेपालीलाई भुटानी शरणार्थी बनाउने खेल, सुनका डल्लै डल्ला तस्करी मौलाउने खेल पशुपतिनाथको सुनको जलहारीमा पित्तल मिसाउने खेल साथै यस्ता धेरै काण्डै काण्डमा मुछिएपछि र भ्रष्टाचारीलाई दलकै नेताले संरक्षण गर्ने जघन्य अपराध गरेका छन। सासंद भएपछि खान पाउँदा जुन पार्टीमा पनि मिल्ने नपाउँदा म यसो गर्छु, उसो गर्छु भन्ने हामी भन्ने शब्द कहिले सासंदको हार्डडिस्कमा नपस्नु नै आम मतदातामा निराशा छाएको छ। साथै लघुवित्त सहकारी बैंक तथा वित्तीय संस्थाको हिटलरी शैलीमा व्याज बृद्धि गरि एकाधिकार प्रयोग गर्दा समेत नियमनकारी निकायले नियमन नगर्नु, ऋणीहरूले आत्मदाह गर्नु र सरकार सरकार जस्तो चलेको छ ? भन्ने प्रश्न उठ्नु पनि उक्त नाराले सार्थक्ता पाई “राजा आउ देश बचाउ” भन्ने नारा प्राथमिक्ता परेको देखिएकोले यही २०८० मङ्सिर-७ को काठमाण्डूको माइतीघर मण्डलमा दुर्गा प्रसाईले कार्यक्रम राखेका हुन यसै कारण यो कार्यक्रमको सार्थक्ता बढेको देखिन्छ।
शाहवंशीय राजा पृथ्वीनारायण शाहाले आधुनिक नेपालको निर्माण गरि सम्बैधानिक राजाको रूपमा रहेको देश नेपाल उनैको वंशका तेह्रौ पुस्तामा पुगेपछि पूर्व राजा ज्ञानेन्द्र ले मन्त्रिपरिषदको अध्यक्ष बनि सत्ता लाल्चा गरेका थिएनन भने सम्बैधानिक राजतन्त्र हट्नु पर्ने थिएन, त्यसैले हाल
“राजा आउ देश बचाउ”
भन्ने नारा लिएर हिडेका राष्ट्रिय प्रजातन्त्र पार्टी र राजा नभई देश बन्दैन सबै देश नै सकिन्छ भनि लागेका झापा निवासी दुर्गा प्रसाई ले राजतन्त्रको हवाला दिई रहेका छन भने राप्रपाका पूर्व अध्यक्ष कमल थापा पार्टी अध्यक्ष बाट हारे पछि राजाको वकालत गर्न छाडि एमालेको सुर्य चिन्हबाट निर्वाचन लडेका थिए।
सम्विधानले दल खोल्न पाउने व्यवस्था गरेको छ म राजा मान्छु भन्ने हो भने उनै पूर्व राजा ज्ञानेन्द्रलाई “राजावादी दल” खोली अध्यक्ष बनाएर निर्वाचनमा गई निर्वाचित सरकार बनाए हुन्छ, जनतालाई भेडाबाख्रा बनाउनु पर्ने आवश्यक्ता नै छैन। हिजो राजा हुँदा जनतालाई भोका नाङ्गा नदेख्नेले आज जनता आर्जित छन, शान्ति सुव्यवस्था छैन, खान पाएका छैनन भन्नुको कुनै अर्थ रहदैन त्यसैले पूर्व राजा ज्ञानेन्द्र ले २०६१ माघ -१९ को कदम चाल्नु अघि ईङ्गलैण्डमा जापानमा सम्बैधानिक राजतन्त्र छ म त्यसरी नै बस्छु भनेको भए नागार्जुन दरबार सर्नुपर्ने थिएन, नारायणहिटी दरबार सङ्ग्रहालय बन्ने थिएन, अब पछि फर्केर अघि बढ्न खोज्यो भने अघिको खाल्डो देखिदैन त्यही खाल्डोमा परि जाकिन्छ, यस्तो कार्यमा देशका कुनै पार्टी र व्यक्तिले राजालाई उकास्नु श्रेयस्कर हुँदैन , त्यसैले भनिन्छ विवाहको लग्न हुँदा लाउन ल्याएको पोते लग्न सकिए पछि लाउदाको अर्थ नभए जस्तै सम्झिन राजा बोकेर हिड्ने पार्टी र व्यक्तिलाई यही सुझाव दिन चाहान्छु।
अन्त्यमा अहिले भएका दल र तिनका नेता नसुध्रने हो मतदाता कराउदै गर्छन नेताले हाम्रो पालो यही हो भनि भ्रष्टाचार गरि रहने यदि हो ? काठमाण्डौ खाल्डोमा भएको जनताको घरमा धुँवा नआउदा किन त्यो घरमा धुँवा आएन भनि हेर्न पठाउने शाहवंशीय राजाले नेपालको सम्पत्ति स्विट्जरल्यान्डमा जम्मा गर्ने र राजाले देशमै सम्पत्ति फिर्ता ल्याउन नसक्ने हो ? र देशको सानो तह देखि उच्च तहका कर्मचारी भ्रष्टाचारमा लिप्त भै रहने हो ? भने यसलाई नियन्त्रण गर्न नसक्ने दलहरू, राजा जो आए पनि देशले फड्को मार्ने छैन । विश्वमा आज सम्म संसदीय प्रणाली नै सफल व्यवस्था मानिन्छ। यही संसदीय प्रणालीकै आधारमा धेरै देशहरूले विकासको फड्को मारेका छन ।
हाम्रो देश नेपालमा पनि भारतको तमिलनाडु राज्यको पूर्व मुख्यमन्त्री स्वर्गिय जय ललीताले त्याहाको कर्मचारी तन्त्रले उनको निर्णय नमान्दाको परिणाम आफू अक्षम हुनु हो भन्दै त्यस्ता भ्रष्ट दुई लाख कर्मचारीलाई एकै पटक बर्खास्त गरेकै कारण उनी सफल बनिन र उनको मृत्युमा धेरै मानिसहरूले आत्महत्या गरेका थिए। सबैको आँखामा आँसु खोला झै बगेको देखियो। नेपालमा पनि यसरी बोल्ट निर्णय गर्न नसक्ने हो भने यो देश आज जस्तो छ, आजको केही वर्ष पछि झन भयावह हुनेछ। कर्मचारीलाई छुट दिदा आफूले पनि भ्रष्टाचार गर्न पाईन्छ भन्ने नेता हुने हो भने कसैले पनि यो देशलाई बचाउन सक्दैन। माहाभारतका पात्र भिष्म पितामह अर्थात देवव्रत को ईच्छा मरण शक्ति हुँदा हुँदै पनि हस्तिनापुर को लडाईमा कौरव अर्थात धिर्तराष्ट्रलाई साथ दिएका थिए, उनलाई थाहा थियो यो लडाईको जीत भनेको धर्मको अर्थात धर्मवीर युधिष्ठिर कै हुनेछ अन्तत त्यही भयो। त्यसैले भिष्म पितामह ( देवव्रत ) ले मृत्यु हुनु अघि देशको लागि यसरी बरदान मागेका थिए।
“उनले आकास तिरहेर्दै आफ्ना दुबै हात फैलाउदै भनेका थिए । हे आकास मेराे देशलाई घाम, पानी, छाया, बर्षाकाे कमि कहिल्यै नहाेस । रुखहरुमा सधै फल लागीरहुन, कमलका फूलले सधै सुगन्ध दिईरहुन, जलासय स्वस्थ र जीवीत रहिरहुन, राजनीतिमा कहिल्यै ग्रहण नलागाेस, भन्दै आफनाे प्राण त्यागेका थिए”
आज हाम्रो देश नेपालमा पनि स्वच्छ छवि भएका नेतालाई जुनसुकै पार्टीका बृद्ध नेता जो संग देश बनाउने योजना छैन तर भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेका छन उनैको हालि मुहाली छ। परिवर्तन र रूपान्तरण उनीहरूको हार्डडिस्कमा छदै छैन त्यस्तै नेतालाई यथास्थितिमा बस्ने नेताले साथ दिएको कारण देशको स्थिति कमजोर भएको छ। त्यसैले भिष्म पितामहले मृत्यु हुनु अघि बरदान मागेको जस्तै नेताको आज हाम्रो देशमा सर्वत्र खाँचो देखिएकोछ। आ-आफ्नो पार्टीले त्यस्तो नेताको खोजि गरौ र वेलायतमा भारतीय मूलका चवालीस वर्षिय ऋषि सुनक लाई त्याहाका मतदाताले प्रधानमन्त्रीमा नियुक्त गरे जस्तै गरि हाम्रो देशमा पनि संसदीय प्रणालीलाई बलियो बनाउदै असल पात्र को खोजी गरौ। धन्यबाद
नारायणबहादुर बस्नेत
मेचिनगर-८ झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार