“थोरै सामन्ती बर्गले धेरै सर्बहारा बर्गलाई शोषण उत्पीडिन र दमन गरेकाले सर्बहारा बर्गको नेतृत्व कायम गर्नुपर्छ” भनि विश्वमा कम्युनिष्ट सिद्धान्त लागु गरेको देखिन्छ। जुन समयमा लागु गरियो त्यो समयमा सायद त्यही भएर नै होला विश्वका कतिपय देशहरू कम्युनिष्ट राज्य बनेका थिए ।
कम्युनिस्ट पार्टी भनेको के हो ? कम्युनिस्ट पार्टी गठनको उद्धेश्य के हो ? कम्युनिस्ट पार्टीले अगाल्ने दर्शन सिद्धान्त राजनीति बीचार विधि र पद्धति के हुन् ? यी कुरामा प्रष्ट हुने र तिनीहरुलाई ब्यवहारमा कार्यान्वयन गर्ने ब्यक्तिलाई कम्युनिस्ट भनिन्छ । कम्युनिस्ट भनेको नेपाली शब्द होइन । नेपाली शब्दकोषमा पहिले रहेका शब्दलाई ख्याल गर्ने हो भने कम्युनिस्टलाई जनाउने उपयुक्त शब्द साधु वा भिक्षु हो पनि भनिन्छ। अझ जनबोलीको शब्द लाई नियाल्ने हो भने “जोगी” हो पनि भनिन्छ । किनकि उ संग आफ्नो भन्ने केही सम्पत्ति हुँदैन।
कम्युनिस्ट दक्षिण एसियाली भाषाको शब्द होइन। यो ल्याटिन भाषाको “कम्युनिस” बाट आएको शब्द हो । त्यस्तै प्राचीन कालदेखि नै क्रिश्चियन धर्मावलम्बीहरुको भेलालाई जनाउन पनि “कम्युनिएन” शब्द प्रयोग गरिन्थ्यो । यिनै शव्दार्थ प्रक्रियालाई पक्रेर मार्क्सले १८३२ तिर कम्युनिस्ट शब्दको विकास गर्नुभएको पाइन्छ।
माक्र्सवादले अघि सारेका एउटा कम्युनिस्टले पालना गर्नुपर्ने विधि र पद्धति यी हुन्–
(१) महाधिवेशनको सर्वोच्चता
(२) दुई महाधिवेशनको बीचमा केन्द्रीय कमिटीको सर्वोच्चता
(३) जनवादी केन्द्रीयता
(४) हरेक पार्टी सदस्य कुनै न कुनै कमिटीमा संगठित हुनुपर्छ र आाफ्ना कुराहरू कमिटीको बैठकमा राख्नुपर्छ
(५) भरसक बैठकमा सर्वसम्मत गर्ने, सकिएन भने बहुमतले निर्णय गर्ने परिपाटी बसाल्ने।
कमिटीको निर्णय बिना कुनै कुरा बाहिर लानु त्यो पार्टीको अनुशासन उल्लँघन गर्नु हो । ब्यक्तिले गर्ने जुनसुकै पनि काम पार्टीको कमिटीबाट अनुमोदन हुनुपर्छ । पार्टीको कमिटीबाट अनुमोदन नगरीकन गरिएका कामको पार्टीमा बैद्धता हुदैन ।
=कम्युनिस्टको नाउँमा के हुनुपर्ने र के हुदैछ ?
एउटा कम्युनिस्ट पार्टी जसले आफुलाई खाँटी माक्र्सवादी पार्टीकोरुपमा गणना गर्छ । जनताको अगाडि यहीँ कुरा घोषणा गर्छ र मुलुकलाई आमुल परिवर्तन गरेर जनताको जीवन स्तर उन्नत बनाउदै समाजवादमा प्रवेश गर्ने कुरा गर्छ ।
एउटा सच्चा कम्युनिस्ट पार्टी निर्माणका मापदण्ड के हुन ? उसले अँगिकार गर्ने दर्शन र सिद्धान्त के हो र त्यो दर्शन र सिद्धान्तले ब्यवहारमा अगाडि सार्ने वैचारिक कार्यपद्धती विधि र शैलि के हुन् ?
आज नेपालका जिम्मेवार ठाउँमा बसेका आफुलाई खाँटी माक्र्सवादी हौ भन्ने नेताहरूले गरेका विचार गर्ने तरिका, काम गर्ने तरिका र आफुलाई हेर्ने र जनतालाई हेर्ने तरिकामा देखापरेका बिचलनलाई हेर्दा नेपालमा समाजवादको भविष्यमाथि कालो बादलको घेरा लागेको देखिन्छ। जनमतलाई अँगिकार गरेर सँसदीय प्रणालीमा प्रवेश गरेको कम्युनिस्ट पार्टी नेकपाले २०७४ को निर्वाचनमा १७४ सिट अर्थात दुई तिहाई नजिक विजय हासिल गरेको थियो। विश्वासको मत लिदा दुईतिहाई भन्दा माथिको मतबाट सरकार सञ्चालन भै रहेको थियो। नेकपाको अध्यक्ष केपी ओलीले लहडमा आफ्नै पार्टीको बहुमतको संसद भंग गरेर सडकमा तमासा देखाउनु यो कस्तो जनमतको कदर हो ? सदन चल्दा चल्दै गुपचुप सदन स्थगन गर्नु, अर्को सदन मुखमा आउन थाले पछि पार्टीको बैठक छलेर फेरि गुपचुप शैलीमा भंग गर्नु के यो जनमतको कदर र संसदीय प्रणाली प्रतिको मर्यादा र स्विकारोक्ति हो ?
यो वास्तवमा संसदीय प्रणाली वा बहुदलीय जनवाद माथिको आकर्षण हुँदै हैन, यो जनमत र संसदीय प्रणालीबाट उत्पन्न आतङ्क हो। जब नेता दार्शनिक दृष्टिकोणबाट बिचलन हुन्छ, उसमा सिद्धान्तमा पनि विचलन आउँछ । कुन बाटो जाने ? उ यसैमा रनभुल्ल हुन्छ, अलमलमा पर्छ आफ्नो अगाडि उत्पन दिशाविहिनतालाई खुट्याउन नसकेपछि उसले बिचारधाराको गोरेटो फेला पार्न सक्तैन । यस्तो विचारमा देखापरेको अन्यौलतालाई चिर्ने भनेको वैज्ञानिक ज्ञानको बाटो दर्शनको दृष्टिकोण मात्र नै हो। यसबाट के देखिन्छ भने द्धन्दात्मक भौतिकवादको गहिरो अध्ययन र त्यसबाट निर्देशित दृष्टीकोण र सिद्धान्तलाई ब्यवहारमा लाने कुरामै नेकपाको नेतृत्वभित्र गंभिर समस्या छन् । अहिले उत्पन्न समस्या त्यसैको परिणाम हो
२०४७ सालमा पार्टी खुल्ला भएपछि जब पार्टी सँसदमा गयो त्यसैवेलादेखी नै पार्टीभित्र गलत विचार प्रवेश गर्न थाले । कमरेड मदन भण्डारी र कमरेड मनमोहन अधिकारीको निधनपछि ०५६ को चुनावमा पुग्दा सिद्धान्त र विचारको सम्बन्धको ठाउँ, पद र पैसाले लियो। जो कार्यकर्ता विचारमा दृढ छन, सिद्धान्तको बाटोमा अविचलित छन् उनीहरू छेऊ लाग्दै गए । छैठौं महाधिवेनपछि पार्टी बिस्तारै पैसा र पदको लेनदेनमा प्रवेश गर्याे । पैसा भएपछि जस्तासुकै मानिसले पनि टिकट पाउने भए । कम्युनिस्ट पार्टीकै टिकटमा बिनोद चौधरी सांसद बने । राज्यलक्ष्मी गोल्छा पैसाकै बलमा सांसद बनिन् । मोती दुग्गड साँसद र मंत्री बने । त्यो समयमा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार पनि भए।
कम्युनिस्ट पार्टीको झण्डालाई हेर्नुहोस, हँसिया हथौडा चिन्हलाई हेर्ने हो भने पनि हामीलाई थाहा हुन्छ, विश्वका सबै कम्युनिस्ट पार्टीले हँसिया हथौडा नै राखेका छन। त्यसैले अफ्रिकाको तान्जानियामा हड्जावे भन्ने जाति छन् । उनीहरुको बढीमा ४० जनाको समूह छ ।
त्यहाँ कसैले पनि कसैलाई केही सिकाइँदैन । बच्चाले आफै सिक्छ । केटा मान्छेहरु दाइ, काका र बुबाको पछि लाग्छन् । धनुषबाण चलाउन सिक्छन् । छोरी मान्छे आमाको पछि लाग्छन् । आमाहरुले जे जे गर्छन् उनीहरुले त्यही त्यही सिक्दै जान्छन् । यो गर, त्यो नगर पनि भन्दैनन् । अर्थात् त्यहाँ शासन, शासक–शासित, शोषक–शोषण कोही पनि छैन। आर्थिक, सामाजिक, सांंस्कृतिक र विचारको पनि शोषण छैन । तान्जनिया राष्ट्र पनि कमन्युजम भएको राष्ट्र हो।
सत्ता भनेको वर्गीय हुन्छ । त्यो वर्ग उठेको इशा–पूर्व चारहजारतिर मात्र देखिन्छ । त्यस अघि स्त्रीको प्रधानता रहेको समाज थियो । तर त्यहाँ राज्य थिएन । राज्य हुनलाई वर्ग र नीजी सम्पत्ति खडा हुनुपर्यो। नीजी सम्पत्ति भएन भने राज्य हुँदैन।
हिजो जनताका घर दैलोमा हिँड्ने नेताहरु आज गार्ड राखेर बस्छन् । गिरिराजमणि पोख्रेल, नारायणकाजी श्रेष्ठ लगायतहरुलाई गार्ड बोकेर हिँड्नु जरुरी छ ? प्रचण्डलाई खतरा हुन सक्छ किनकि उहाँका दुस्मन धेरै छन् । तर फेरि दुस्मन उहाँ आफैले बनाएको हो । केपी ओलीलाई पनि केही खतरा छ ? राजाको प्रत्यक्ष शासनमा बढी तामझाम भएकै कारण जनताको छोरा वा छोरीलाई सम्माननीय राष्ट्रपतिमा आसिन गराउने सम्बिधानमा व्यवस्था गरेको थियो। आखिर विद्या भण्डारीले पनि पूर्व राजाकै शैलिमा सम्माननीय पदमा आसिन भएको समयमा सुरक्षाको तामझाम गर्नुपर्ने केही जरुरी नै छैन र थिएन । उहाँहरुले सामन्ती संस्कृतिलाई जारी राख्न खोजिरहनु भएको देखिन्छ ।
कम्युनिस्ट नेताहरुमा न गणतन्त्रवादी संस्कृति छ न पुजिँवादी संस्कृति । हाम्रा नेताहरुले जस्तो त अमेरिकामा पुजिँवादी गढका नेताहरुले पनि गर्दैनन् । बेलायत, क्यानडाको राष्ट्रपति समेत रेलमा हिंडिरहेका हुन्छन् ।
यहाँ त नेताहरु सामन्तीचिन्तन, अझ त्यो नभए पुजिँवादभित्रको पनि खराब फासिस्ट खालको चिन्तन बोकेर हिँडिरहेका छन् । उनीहरु फासिस्ट तडकभडक देखाउन खोजिरहेका छन् ।
तर खतरा पनि होला किनकि उहाँहरुले पैसा जोड्नु भएको छ । अनि जीवनमा पटक पटक राष्ट्रपति र प्रधानमन्त्री हुन पनि मन छ । त्यो भन्दा तलको पदमा उहाँहरुलाई बस्न मन नै छैन । सात वर्ष सम्माननीय राष्ट्रपति पदमा आसिन विध्यादेवी भण्डारीलाई पुन: प्रत्यक्ष राजनीति गर्न मन लागेर नै होला नेकपा एमालेको कृयसिल सदस्यलाई नविकरण गरेको उदाहरण छ। तर उहाँहरुभन्दा अभागी र दुःखी मानिस मैले आजसम्म देखेको छैन। समाजले हेर्दा त ठूला मानिस देखिएलान् तर म त एकदम दुःखी मानिस देख्छु । खस्रक्क आवाज आयो भने पनि झसङ्ग हुने खालको चरित्र बोकेर बसेका छन। श्रीखण्डको बोटमा सर्प पनि बसेको हुन्छ । तर श्रीखण्डको बोटलाई सर्पको विष लाग्दैन ।
तपाइँ आलु, अण्डा र चियापत्तिमा जे बनाउदाँ पनि पानी प्रयोग गर्नुहुन्छ । पानीमा आलु, अण्डा या चियापत्ति राख्नुस् र उसिन्नुहोस् । एउटै पानीले पकाउने हो सबै कुरा। अण्डा साह्रो भएर आउँछ। आलु गिलो भएर आउँछ। चियाको रस आउँछ । आज कम्युनिस्ट पार्टी यस्तै भएको पाउँछौ।
पार्टीहरुले कम्युनिस्ट नाम राख्न थालेको लेनिनपछि हो। उनले रुसी सामाजिक जनवादी श्रमिक पार्टी ( बोल्सेभिक) को नाम कम्युनिस्ट राखे ।
कम्युनिस्ट लिग मार्क्सले राख्नुभएको नाम हो । अहिले हामी जसलाई कम्युनिस्ट भन्छौँ, त्यति बेला युरोपमा तिनिहरुलाई सोसलिस्ट (समाजवादी) भनिन्थ्यो। लेनिनकै पार्टी पनि आफूलाई क्रान्तिअघि सामाजिक जनवादी भन्थ्यो। लेनिनद्वारा सन् १९१७ को अप्रिलमा लेखिएको थेसिसमा “समाजवादी” राख्ने भनियो र कम्युनिस्ट प्रस्ताव गरियो । कम्युनिस्टहरुको पार्टी भनेको होइन। कम्युनिस्टको पार्टी हुँदैन । कम्युनिस्टले पार्टी बनाउदैन । उसलाई पार्टी चाहिँदै चाहिँदैन । मार्क्सले घोषणापत्रमै भन्नुभएको छ,”कम्युनिस्टहरु सर्वहाराको पार्टीमा सामेल हुने भनेर” मार्क्सले भन्नुभएको छ “कम्युनिस्टहरुले अर्काे पार्टी बनाउनु पर्दैन ।” त्यसैले अहिलेको यो कम्युनिस्टहरुको पार्टी होइन। जसरी लेनिनको पार्टीमा राजतन्त्रवादीहरु पनि थिए, त्यसरी नै यहाँका कम्युनिस्ट पार्टीमा पनि राजतन्त्रवादीहरु छन् । यहाँ गणतन्त्रवादीहरु पनि छन्। अझ धर्म नै समाएरै पार्टीमा बसेका छन् । यहाँ कोही हिन्दु छन्, कोही मुसलमान छन् र कोही क्रिश्चियनहरु छन् । छुवाछुत गर्ने छन्, छुवाछुतमा पर्ने छन् । डाँका, चोर र फटाहा सबै छन् ।
अहिलेका कम्युनिस्ट पार्टीहरु गंगा नदी जस्ता हुन् । कबीर भन्नुहुन्छ, “नालाको पानी कोही खादैन तर त्यही नालाको पानी गंगामा मिसिएपछि सवै गंगाजल भनेर खान्छन्।” नेपालको अहिले कम्युनिस्ट आन्दोलनमा भनिएको सात लाख सदस्यमा सरकार चलाउनदेखि लिएर, जंगलमा रहेका कम्युनिस्टहरुमा धेरै खालका मानिसहरु पर्छन् । नेकपा एमालेले एघारौं महाधिवेशनसम्ममा दश लाख पार्टी पिएम बनाउने लक्ष लिएर गाउँ तह देखि अधिवेशन गरिरहेको छ। तिनमा कोही साधकहरु पनि होलान्। यो बेग्लै कुरा हो
साम्यवादी हुने भनेको व्यवहारमा मात्र होइन । मनैदेखि शासन–शोषण, उत्पीडन, अन्याय–अत्याचार र असमानताको भय त्रास नहुने भनेको हो ।कम्युनिस्ट सिद्धान्त यदि यही हो भने गिरिराजमणि र नारायण काजी श्रेष्ठ लाई किन सुरक्षा चाहिन्छ ? पुष्पकमल दाहाल प्रचण्डलाई सुरक्षा चाहिनु पर्ने कारण आज कम्युनिस्ट पार्टीका कार्यकर्ताले खोज्ने दिन आएको छ।
अन्त्यमा विश्वभरिका श्रमिक मजदुर एक हौ भन्ने नारा बोकेका कम्युनिस्ट पार्टीहरू सबैलाई बराबरी बनाउने कम्युनिस्ट पार्टीहरू भित्र सत्ता मोह भएका कारण सत्तामा जसरी पनि टिक्नै पर्ने हुन्छ त्यसैले यही सत्ता धङधगी कै कारण एकता हुन सक्दैन। र उनीहरू बीच समानता पनि भएको पाईदैन। पार्टीहरू बीच एकता गर्ने हो भने सत्तामा त केही व्यक्तिहरू मात्र हालिमुहाली गर्न पाउछन अर्थात हावी हुन्छन सबै सत्तामा अटाउन सक्दैनन, सबैलाई कार्यकारी पद नै चाहिन्छ त्यसैले नेकपा बिभाजन भएर एमाले र माओवादी नै भए भने नेकपा एमाले बाट माधव नेपाल र झलनाथ खनालहरू नेकपा समाजवादी पार्टीमा छन, त्यसैले सत्ता मोहकै कारण केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, नारायणमान बिजुक्छे, चित्रबहादुर केसी, नेत्रबिक्रम चन्द, बिष्णुबहादुर मानन्धर, मोहन बैध्य “किरण”, माधवकुमार नेपाल बीच किन एकता हुन सक्दैन ? यसरी हेर्दा गरिव मुलुकका जनतालाई के भन्दा आफ्नो पार्टीमा आकर्षित बनाउन सकिन्छ त्यही भाषा बोलेर आफू सत्तामा पुग्ने नीतिका कारण नेपालमा मात्र हैन विश्वका हरेक देशबाट नै कम्युनिस्ट पार्टीका सरकार एकपछि अर्को गर्दै किल्ला भत्किदै गएका छन र नेपालमा पनि मतदाताले निर्वाचनको समयमा सुक्ष्म विश्लेषण गर्ने हो र मतदान गर्ने हो भने आगामी निर्वाचन बाट कम्युनिस्ट सरकार बन्ने जनमत सपनामा मात्र हुन्छ भन्दा अतियुक्त नहोला। धन्यबाद
नारायणबहादुर बस्नेत
मेचिनगर:- ८ झापा