झापा, २७ बैशाख । इलाम जिल्लाका दशै वटा र झापाका १५ वटै पालिकामा ‘लम्पी स्किन’ को प्रकोप देखा परेको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शीतल भट्टराईले इलाममा २१ हजार गाईगोरु ‘लम्पी स्किन’ बाट सङ्क्रमित रहेको र तीन सय ४६ वटा गाईगोरु यही रोगबाट मरिसकेका बताउनुभयो । झापामा छ हजार चार सय ९५ वटा गाईगोरु यसबाट प्रभावित भएकोमा एक सय १६ वटा पशु मरिसकेका छन् । इलामको देउमाई नगरपालिका र झापाको बाह्रदशी गाउँपालिकामा सबैभन्दा बढी गाईगोरु रोगबाट प्रभावित भएको पाइएको छ । देउमाईमा १० हजार पशुमा रोग सङ्क्रमण भइसकेको र तीमध्ये दुई सय ५० वटा पशु मरिसकेको उहाँले जानकारी दिनुभयो ।

झापाको बाह्रदशी गाउँपालिकामा एक हजार दुई सय गाईगोरु सङ्क्रमित भएकोमा ७० वटा मरेको बताइएको छ । झापाको गौरादहमा तीन हजार, कचनकबलमा एक हजार, दमकका सात सय र शिवसताक्षीमा दुई सय वटा गाईगोरुमा ‘लम्पी स्किन’को सङ्क्रमण देखा परेको छ ।

इलामको इलाम नगरपालिकामा तीन हजार दुई सय, माङ्सेबुङमा तीन हजार, सूर्योदयमा दुई हजार तीन सय, माइजोगमाईमा एक हजार पाँच सय वटा गाईगोरुमा यो रोगको सङ्क्रमण देखिएको छ । ‘लम्पी स्किन’ रोग लागिसकेपछि भरपर्दो उपचार छैन । रोगी पशुको ¥याल, शरीरबाट निस्कने तरल पदार्थ र लामखुट्टे तथा भुसुनाको टोकाइबाट एक पशुबाट अर्को पशुमा रोग सङ्क्रमण हुने वरिष्ठ पशु चिकित्सक दियालीले बताउनुभयो ।

रोग रोकथाम र नियन्त्रणका लागि सरकारी तहबाट जनचेतना जगाउनेबाहेक अरु उपाय अवलम्बन गरेको पाइएको छैन । इलाममा हालै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका तर्फबाट ‘लम्पी स्किन’ बाट पशुहरूलाई जोगाउने विषयमा किसानहरूसँग सचेतनामूलक गोष्ठी गरिएको थियो । गोष्ठीमा रु ६० हजार मूल्य बराबरको औषधि वितरण गरिएको केन्द्रकी प्रमुख भट्टराईले जानकारी दिनुभयो । “गोठको सरसफाइ राम्ररी गर्न र रोगबाट मरेका पशुलाई सुरक्षितरूपमा छिटो गाड्ने व्यवस्था मिलाउन किसानलाई अपिल गरेका छौँ”, भट्टराईले भन्नुभयो, “खोप लगाउँदा रोगबाट गाईवस्तुलाई जोगाउन सकिन्छ ।”

झापा र इलामका पशुपालक किसानहरूले ‘लम्पी स्किन’ पशुहरूलाई जोगाउन आफ्नै खर्चमा खोप लगाउन थालेका छन् । रोग लागिसकेका गाईवस्तुलाई गोठ सार्दा र बिक्रीका कारण नयाँ ठाउँमा पुग्दा ‘लम्पी स्किन’ को सङ्क्रमण टाढासम्म छिटो गतिमा फैलिरहेको पशु विज्ञहरू बताउँछन् ।

कोशी प्रदेशका अधिकांश जिल्लामा यसको प्रकोपले महामारीकै स्वरूप लिइसक्दा समेत सरकारीस्तरबाट नियन्त्रणका लागि ठोस कार्यक्रम आउन नसकेको इलामको पशुपतिनगरका कृषक भीमबहादुर भण्डारीले बताउनुभयो । सरकारले रोगको रोकथाममा विशेष सहयोग गर्नुपर्ने बताउँदै उहाँ भन्नुहुन्छ, “पहाडी जिल्लामा गाईभैँसी पालेर जीविका धानिरहेका छौँ, भटाभट रोगले मर्न थालेपछि किसानले ठूलो क्षति व्यहोर्नु परिरहेको छ ।”

कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी वरिष्ठ पशु चिकित्सक डा दियालीले रोगबाट प्रभावित र मरेका पशुको विवरण मागिए पनि विभिन्न जिल्लाबाट मन्त्रालयमा विवरण आउन बाँकी नै रहेको बताउनुभयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार