झापाको बाह्रदशी गाउँपालिका- ३ स्थित ‘राजगढ महोत्सव’ गएका एक जना मृत फेला परेका छन् ।

बिहीबारबाट शुरु भएको राजगढ महोत्सवमा गएका बाह्रदशी गाउँपालिका– ३ निवासी रविन उप्रेती मृत फेला परेका हुन् । बिहीबार साँझ राजगढ बजार पश्चिममा लगाइएको राजगढ महोत्सवमा गएका उप्रेती आज बिहान त्रिवेणी चौक नजिकै खेतमा मृत भेटिएसँगै प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

प्र-१-०१-०१६ प १५५३ नम्बरको मोटरसाइकल लिएर महोत्सव हेर्न गाएका उनी मृत भेटिएका हुन् । मृतक उप्रेतीले प्रयोग गरेको मोटरसाइकल शवको नजिकै लडेको अवस्थामा भेटिएको मृतकका आफन्त दिनेश मैनालीले बताए । उनले भने – शव र घटनाको प्रकृति हेर्दा मोटर साइकल दुर्घटनामा परी उनको निधन भएको जस्तो देखिँदैन तर, प्रहरीले मुचुल्का नै नगरी शव उठाएर लगेपछि हामीले विरोध गरेका हौँ ।

अहिले मृतक रविनको शव पुनः सोही स्थानमा राखेर मुचुल्का गर्न लागिएको छ । तर, मृतकका आफन्त र स्थानीयले उप्रेतीको दुर्घटनामा निधन भएको हो या कसैले हत्या गरेर शव फालेको हो सो को अनुसन्धान नगरी शव उठाउन नदिने भन्दै विरोध गरिरहेका छन् ।

सवारी दुर्घटनामा परी बेहोस अवस्थामा भेटिएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा स्थानीयले विरोध जनाएको प्रहरीको भनाई छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

वैदेशिक रोजगारीका लागि साउदी गएका उनी २२ दिन अघि मात्रै घर फर्किएको बाह्रदशी गाउँपालिका कार्यपालिका सदस्य लक्ष्मी निरौला अधिकारीले बताइन् । वैदेशिक रोजगारीबाट फर्किएसँगै उनी जग्गाको कारोबार गर्दै आएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
4
+1
2
+1
7
+1
38
+1
4

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार