बिर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) झापाले जिल्लाका १५ वटै पालिकालाई ध्यानाकार्षण गर्ने अभियानको आजबाट प्रारम्भ गरेको छ । अनेरास्ववियु झापाले आज कनकाई नगरपालिकालाई ध्यानाकार्षण पत्र बुझाउँदै अभियानको थालनी गरेको हो ।

अनेरास्ववियुले विद्यार्थी आन्दोलनबाट प्राप्त हक अधिकार र संविधानमा भएको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गराउनका लागि झापाका सबै पालिकाहरुलाई गम्भीर ध्यानाकर्षण गराउन अभियान सञ्चालन गरेको हो ।

अनेरास्ववियुले आफ्नो तीन बुँदे माग सहित ध्यानाकार्षण बुझाएको हो । अनेरास्ववियुको तीन बुँदे मागमा नेपालको संविधान २०७२ को भाग ३ धारा ३१ को उपधारा २ मा राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउनुपर्ने भनी मौलिक हकको रुपमा दर्ज गरेको तर विद्यालयहरुले मनोमानी ढंगबाट चर्को शुल्क लिने गरेको पाइएकाले संविधानको उक्त मौलिक हकलाई तत्काल कार्यान्वयन गर्नुपर्ने ।

नीजि शैक्षिक संस्था संचालन ऐन अनुसार जम्मा विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति प्रदान गरि भर्ना गराउनु पर्नेमा सो प्रकारको छात्रवृत्ति वितरण गरेको नपाइएकाले उक्त ऐनको नियमन गर्नपर्ने । साथै, छात्रवृत्ति वितरण प्रकृयालाई पारदर्शी बनाउन अनिवार्य सूचना पाटीमा प्रकाशन गर्नुपर्नेमा कागजी रुपमा मात्र छात्रवृत्ति वितरण गरेको पाइएकाले उक्त वितरण प्रकृयालाई नियमन गर्दै पारदर्शी बनाउनु पर्ने ।

विभिन्न विद्यालयहरुमा भिन्न भाषाको माध्यमबाट शिक्षा दिने नाममा अधिक शुल्क लिने र एउटै विद्यालयमा विद्यार्थीलाई दुई वर्गमा विभाजन गर्ने प्रवृत्तिलाई अन्त्य गर्दै सबै विद्यार्थीहरुलाई समान, गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने लगायतका मागहरु राखेका छन् ।

अनेरास्ववियु झापाका अध्यक्ष बलराम गिरीले अनेरास्ववियुले विद्यार्थीको हक स्थापित गराउन मात्र हैन त्यसलाई प्राप्त पनि गराउने बताएका छन् । उनले संविधानले विद्यार्थीलाई प्रदान गरेको हक अधिकार कुनै पनि हालतमा विद्यार्थीहरुलाई उपलब्ध गराउने दावी गरेका छन् । साथै अनेरास्ववियु शैक्षिक वेथितिको विरुद्ध लड्ने विद्यार्थी संगठन भएको जिकिर गर्दै उनले सम्पूर्ण विद्यार्थीहरुलाई अनेरास्ववियुमा जोडिन अपिल समेत गरेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
3
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार