झापा । नेपाल–भारत व्यापार र पारवहन सन्धिविपरित भारतीय पक्षले भद्रपुर–गलगलिया सीमा नाकाबाट ओहोरदोहोर गर्ने दुई पाङग्रे नेपाली नम्बर प्लेट भएको (मोटरसाइकल) माथि रोक लगाएको छ ।

भारतका महावाणिज्य दूतावास वीरगन्जले पठाएको पत्रलाई आधार मानेर गलगलिया भन्सार कार्यालयले भद्रपुर नाकाबाट गलगलिया बजारसम्म जाने नेपाली नम्बर प्लेट भएको मोटरसाइकलमाथि रोक लगाएको हो । भन्सार कर्मचारीको आदेशमा भारतीय एसएसबीले सीमा नाकामै मोटरसाइकलमाथि रोक लगाएपछि सर्वसाधारण नेपाली जनताले सस्ती झेल्नु प¥यो ।

परमिट नभएको मोटरसाइकल भारत प्रवेशमा रोक लगाउँदा सवारी धनीहरूले आआफ्नो मोटरसाइकल सीमामै राखेर पैदल गन्तव्यतर्फ जान बाध्य भए । माथिको आदेश भन्दै भन्सार कर्मचारीले बिहीबार दिउँसो १२ बजेदेखि एक्कासि मोटरसाइकलमाथि रोक लगाएको बताइएको छ ।
नेपाली नम्बर प्लेट भएको मोटरसाइकल प्रवेशमाथि रोक लगाउन लागेको अग्रिम कुनै सूचना वा जानकारीसमेत भारतीय पक्षले नेपाली पक्षलाई गराएन ।

दुई देशका सरकारबीच सन् १९६० भएको सम्झौता अनुसार नेपाली गाडीहरूको लागि (भारतीय सीमा बजार वा रेल्वे स्टेसनसम्म) जान पाउने भनिएको छ, त्यसमा कुनै परमिट चाहिँदैन । भारतीय सीमा बजार वा रेल्वे स्टेसनबाहेकको दुरीसम्म जाने, भारतमा एक दिन वा त्यसभन्दा बढी दिन बस्ने नेपाली सवारीसाधनले भारतीय दूतावास, काठमाडौँ वा महावाणिज्य दूतावासबाट वाहन अनुमति परमिट लिनुपर्छ भनी लेखिएको छ । तर, गलगलिया भन्सार कर्मचारीले सन्धि विपरीत नै मोटरसाइकलमाथि रोक लगाइ दिएपछि अहिले सर्वत्र आलोचना भइरहेको छ । सन्धि विपरीत भारतीय सीमा बजारसम्म जाने मोटरसाइकललाई समेत रोक लगाएपछि सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म भद्रपुरका डीएसपी श्यामसंगति महर्जन र वडा प्रहरी कार्यालय भद्रपुरका सन्तोष बुढाथोकी, पत्रकारसहितको टोली गलगलिया भन्सारका सुपरिटेन्डेन्ट उमेश कुमारलाई गएर कार्यालयमै भेटेका थिए ।

भन्सारका सुपरिटेन्डेन्ट कुमारले भन्सार हेडक्वार्टर पटनाले सबै मोटरसाइकलमाथि रोक्न लगाउनु भनी कुनै आधिकारीकपत्र भने नपठाएको स्विकारेका छन् ।  हेडक्वाटरले भारतका महावाणिज्य दूतावास वीरगन्जले पठाएको पत्र नै इमेल गरी दुई दिन अघि पठाएपछि त्यसलाई कार्यान्वयन गर्दै मोटरसाइकलमाथि रोक लगाएको उनले बताए ।

यसबारेमा हेडक्वार्टर कुरा गरी छिट्टै मोटरसाइकल आगमनलाई सहज बनाउने उनको भनाई छ ।  तर, महावाणिज्यको पत्रको बुँदाहरूमा प्रस्ट लेखिएको छ कि भारतमा एक रात बस्ने परमिट नभएका सवारीसाधनमाथि कडाई गर्नु, नजिकैको बजार वा स्टेसनसम्म जाने नेपाली सवारीसाधनमाथि दुई देशबीच भएको सन्धि बमोजिम यो कार्यान्वयन नगर्नु भनिएको छ । महावाणिज्यले ७ वटा बुँदा उल्लेख गरी सो पत्र भन्सार प्रमुख आयुक्त हेडक्वार्टर पटनालाई जुलाई ३ तारिखमा पठाएको थियो ।

यता झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार भद्रपुर नाकामा भारतीय पक्षले मोटरसाइकल प्रवेशमाथि रोक लगाएको बारेमा जानकारी नआएको बताए । ‘अब जानकारी पाइयो,’ प्रजिअ पोखरेलले भने, ‘यसबारेमा सम्बन्धित निकायसँग तत्काल कुराकानी गरी उत्पन्न समस्यालाई सहजीकरण गर्छु ।’  साभार : TOP

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार