काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाजको सद्भाव खलबल्याएर अहिले भइरहेका अनियमितता लुकाउने प्रयास भइरहेको दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले कोशी प्रदेशमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुनुपर्ने बताएका हुन् ।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका उनले भने, ‘हाम्रो दुस्मन, गरिबी र अशिक्षा हो । बेरोजगारी हो । यो साझा दुस्मन हो । आज जातीय सद्भाव भड्काउन पाइयो भने त भ्रष्टाचारका यत्रा काण्डहरू सामसुम, थामथुम, हुन्छन् भनेर त्यतातिर तपाईलाई आगो झोसिरहेका छन्, खबरदार । यो आगोमा म पेट्रोल मट्टितेल हाल्दिन । कानुनी रूपमा वर्जित काम गर्न पाइँदैन । कानुनी राज्यमा कानुनले जे भन्छ त्यसलाई मान्नुपर्छ । एक अर्काको आस्था र विश्वासमा आँच आउने कार्य हामी कसैले गर्नुहुँदैन । सद्भाव खलबल्याएर त्यसबाट राजनीतिको रोटी सेक्ने कुरा कसैले पनि गर्नु हुँदैन ।’
उनले समाजको सद्भाव खलबल्याउने मान्छेलाई आफ्नो सामाजिक सञ्जालबाटै बहिष्कार गर्न आग्रह गरे । उनले जाति जातिबीचको द्वन्द्व अहिले नरहेको भन्दै अहिले सबै एकजुट भई गरिबी, बेरोजगारी र अशिक्षारुपी शत्रुलाई हटाउनुपर्ने बेला रहेको उल्लेख गरे ।

उनले भने, ‘अहिले पनि कतिपय मानिसहरू प्रश्न सोध्नुहुन्छ, त्यो प्रश्नभित्र नियत बसेको हुन्छ । बङ्ग्याएर, टिङ्ग्याएर, गलत हेडलाइन दिएर जुधाउने एउटा जाति र अर्को जातिलाई लडाउने अभिव्यक्ति दिने त्यस्ता मिडिया हेर्दा पनि नहेर्नुस्, त्यस्ता सोसल मिडिया अकाउण्ट भएका मानिसहरू ब्लक गर्नुहोस् । समाजको सद्भाव खलबल्याउने मान्छेहरू किन ब्लक नगर्ने ? समाज सद्भाव बोक्ने मान्छेलाई खोज्ने हो । फूल रोप्ने मान्छेलाई खोजी खोजी माया गरौँ, काँडाले घोच्ने मान्छेबाट टाढा बसौँ ।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार