नेपाली साहित्य क्षेत्रका चम्किला नक्षत्र, बहुमुखी प्रतिभाका धनी, मोतीराम भट्ट नेपाली साहित्यका निम्ति अद्वितीय व्यक्तित्व हुन् । वि.सं. १९२३ भाद्र २५ गते कुशेऔंसीका दिन काठमाडौंको भोसीको टोलमा पिता दयाराम भट्ट, माता रिपुमर्दिनीदेवी भट्टका सुपुत्रका रूपमा मोतीराम भट्टको जन्म भएको हो। मोतीराम भट्ट माध्यमिक कालीन साहित्यका विराट प्रतिभा, मोतीरामले नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा बिर्सनै नसकिने गुण लगाएका छन् । भक्ति धारामा सीमित प्राथमिक कालको साहित्य परम्परालाई भत्काउँदै माध्यमिक कालीन शृङ्गार धाराको विजारोपण गर्ने श्रेय मोतीरामलाई नै जान्छ।उनी शृङगार धाराका प्रवर्तक र प्रवर्धक दुवै हुन। त्यसैले सिङ्गो माध्यमिक काललाई मोती युग वा शृङगार युग भन्ने चलन पनि छ ।

बाल्यकाल र शिक्षा,
मोतीराम भट्टको जन्म काठमाडौंमा भए पनि यिनका वंशज भने कुमाउगढबाट बसाइँ सरेर आएका थिए । पण्डित दयाराम भट्ट र रिपुमर्दिनी देवीका प्रथम सन्तान जन्मनासाथ दिवङ्गत भएका थिए । त्यसैले माइला सुपुत्रको रूपमा मोतीरामको जन्म भएको थियो । मोतीरामलाई दीर्घजीवी राख्ने हेतुले उनका मातापिताले नाकको दाहिने पोरा छेडिदिएका थिए । तर यही कारणले साथीहरूले केटा छोरी भनेर जिस्काउने गर्दथे । उनी लजालु स्वभावका भएकाले हाँसी मात्र रहन्थे ।

मोतीराम भट्टको पाँच वर्षको उमेर देखि नै अक्षराम्भ भएको थियो । उनी ६ वर्षको उमेरमा काशी पुगेका थिए । उनको शिक्षाको प्रारम्भिक जग काशीमा नै बस्यो । उनी त्यहाँको फारसी स्कुलमा भर्ना भई फारसी र उर्दू पढ्न थाले। पढ्दा पढ्दै उनको भेट भारतीय साहित्यकार भारतेन्दु हरिशचन्द्रसँग भयो। पछि गएर हरिशचन्द्र स्कुलमा अंग्रेजी पढेका थिए। स्मरण रहोस् भारतेन्दु हरिशचन्द्र भारतीय साहित्यका आधुनिक कालका प्रवर्तक मानिन्छन। उनी पनि मोतीराम झैँ ३४ वर्षको उमेरमा अल्पायुमै दिवङ्गत भएका थिए । भारतेन्दु हरिशचन्द्रको प्रभावले मोतीरामले, साहित्यका धेरै विधाहरूसँग परिचित हुने मौका पाए । काॅशीमा बस्दा विस्तारै संस्कृत र अङ्ग्रेजी पढ्ने अवसर पाई दुवै भाषामा दक्ष भए । मोतीराम भट्टले बनारसमै बस्दा नै गजल गाउन तथा प्रसिद्ध सितारवादक पन्नालालबाट सीतार बजाउन सिकेका थिए।

१९३७ सालमा आमा र बहिनीसहित मोतीराम नेपाल फर्किए । १५ वर्षको उमेरमा उनको विवाह भयो । त्यसपछि नेपालमै बसेर संस्कृत र अंङ्ग्रेजी पढ्न थाले । मोतीरामले आइ. ए. सम्मको अध्ययन गरेका थिए ।

विचार तथा योगदान
बालकृष्ण समका अनुसार मोतीराम भट्ट देशका प्रत्येक क्षेत्रमा राष्ट्रियता चाहन्थे र त्यसैबाट राष्ट्रको उन्नति हुन्छ भन्ने विचार राख्दथे । स्वदेशी बोल्नु, स्वदेशी खानु स्वदेशी लाउनु र स्वदेशी ब्यबहार गर्नपर्छ भन्ने सपना देख्दथे। बाराणासि बाट नेपाल फिर्तिभई आएपछि पन्ध्र बर्ष कै उमेरमा विवाह गरे भने। उनी दरबार हाइ स्कुलमा स्कुल जीवन बिताएर उच्चशिक्षाका लागि कलकत्ता गएका थिए उनी सबैसँग मिलनसार भएर बस्न रमाउथे।

मोतीराम भट्ट नेपाली साहित्यमा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन् । भानुभक्तलाई चिनाउने काम पनि उनै मोतीराम भट्टबाटै भएको हो भन्ने कुरा उनैको शब्दमा लेखिएका कविताको अंशले प्रष्ट पारेकोछ।
“भर् जन्म घाँसतिर मन दिइ धन् कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै कन आज यस्तो॥

कदाचित् “कवि भानुभक्त”को कविता हेरेर तपाञीहरूको इच्छा जीवन-चरित्र पनि हेर्नको भयो होला, तस् अर्थ कविको जीवन वृत्तान्त हालमा लेखी छपायाको छू सो हेरी निज कविका समग्र वृत्तान्त जानी मेरा उपर करुणा रही प्रसन्न हुनुभयो भने भला मेरो परिश्रम पनि सु˚ल होला। यथाशक्य कविका निर्मित श्लोक बयान समेत राखी यो जीवन चरित्र लेखेको छू। कवि भानुभक्त आचार्यका भतीजा रामदत्तकन मो अनेकानेक धन्न्यवाद दिन् छू जसले मलाई निज कविका अनेक हाल यथार्थ भन्नुभयो जस् का कृपाले यो पुस्तक्को जन्म भयो”।
यी माथिका हरफहरूले पुष्टि गरेको पाईन्छ।

मोतिराम भट्ट उनका छिमेकी खड्गदत्त पाण्डेको बिहेमा जन्ती जाँदा त्यहाँ पनि भट्टले रातभरि श्लोकमा जुहारी खेलेको सुने अनि नेपाली भाषामा पनि यति मीठा/मीठा रसिला कविता लेखिँदा रहेछन भन्ने कुराको उनीमा झन सारो ज्ञान पलायो, ती सबै जुहारी सिलोकहरू भानुभक्तले लेखेका हुन भन्ने चाल पाएपछि उनी एक्कासि भानुभक्त आचार्यका गुनगानमा लाग्न थाले।त्यसपछि उनी भानुभक्त आचार्यका कृतिहरू खोजी/खोजी प्रकाशन गर्ने काममा जुटे।
केही महिना काठमाडौमा बसेर आफ्नी पत्नीसहित उनी संवत् १९३८को पुसमा काशी गए। काशी पुगेर यिनले ‘भारतजीवन’ भन्ने हिन्दी पत्रिकाको नेपाली संस्करण ल्याई यसको प्रकाशकिय र सम्पादकीय लेखेर “भारतजीवन” छापाखानासँग सम्बन्धित पनि बने। छापाखानाबाट यिनले नेपाली भाषाका पुस्तकहरू छापे। त्यसै बेला यिनले बनारसमा केही साथीहरू पद्मविलास पन्त,काशीनाथ, तेजसिंह र तेजबहादुर रानाहरूको सक्रियतामा एउटा मित्रमण्डलीको गठन गरे। त्यही यिनले समस्यापूर्तिका कविता लगायत अन्य फुटकर कविता र गजल-लेखनको अभियान पनि चलाए साथै श्लोकको बारेमा जान्ने उत्सुकता भयो, भानुभक्तले रचना गरेका हुन भन्ने थाहा पाएपछि भानुभक्तको बारेमा सोधिखोजी गर्न थाले । नेपाली भाषामा राम्रा राम्रा श्लोकहरू भनेको सुन्दा मोतीरामलाई नेपाली भाषा र साहित्यको प्रवर्धन गर्नुपर्छ भन्ने लाग्यो । तत्कालिन अनुवाद रूपान्तरणको साहित्य लेखनको मुल प्रवृत्तिलाई सामाजिक बिषयद्वारा मौलिकता, नवीनताको स्थापना गरि मोतिराम युगको आरम्भ गरे। यसरी नै भट्टले यस अघिको लेखोटे युगलाई रामायणको बालकाण्ड फेला पारी छपाइदिए र माध्यमिककाल अर्थात मुद्रण-प्रकाशनको कालमा रूपान्तरित गरेर बिर्सनै नसकिने छाप छोडेका छन। मोतीरामको ज्ञान आर्जन र औपचारिक शिक्षा भारतमा भए पनि आफ्नो देशको भाषा संस्कृति र साहित्यको श्रृवृद्धिमा सदासर्वदा लागिरहे ।उनि हिन्दी, उर्दु, फारसी, अङ्ग्रेजी र झर्रा नेपाली शब्दहरूको माधुर्यपुर्ण प्रयोग गरेका छन।
नेपाली पत्रकारिताको सुरुवातकर्ता पनि मोतीराम नै हुन् । नेपाली भाषाको पहिलो पत्रिका “गोरखा भारत जीवन” प्रकाशनका साथै सम्पादन गर्ने कार्य मोतीरामबाटै भएको हो। उनले मोतीराम पुस्तकालय, पाशुपत छापाखाना खोल्ने काम पनि गरे । वनारसमा वस्दा गजल र समस्या जस्ता नौला काव्यविधाको प्रवेश नेपाली साहित्यमा गराए । भानुभक्तका रामायण, भक्तमाला, रामगीता प्रश्नोत्तरी जस्ता काव्यलाई सम्पादन गर्ने काम पनि उनले नै गरे ।

नेपाली साहित्यका प्रथम जीवनी लेखक पनि मोतीराम भट्ट हुन् । वि.सं. १९४८ सालमा मोतीरामले भानुभक्त आचार्यको जीवन चरित्र नामक जीवनीको पुस्तक लेखेका थिए । साथै उनले भानुभक्तका कृतिको समालोचना गरी नेपाली साहित्यमा समालोचनाको आरम्भ गरे । यही कृतिमा भानुभक्तलाई उच्चसम्मान गर्दै “आदिकवि”को उपाधि दिएपछि भानुभक्तलाई आदिकवि भनेर चिनिने गरिएको छ।
मोतीराम नेपाली साहित्यका अन्वेषक पनि हुन। भानुभक्तको कृतिको खोजी गर्ने, पाण्डुलिपि खोजेर छपाउने, कार्यबाट पनि यिनी नेपाली साहित्यका कुशल अन्वेषक थिए भन्ने पुष्टि हुन्छ । मोतीराम भट्ट नाटककार तथा निर्देशक पनि थिए । भट्ट आफैले शकुन्तला, प्रिदर्शिका र पद्मावली जस्ता तीन नाटकहरू लेखेका थिए । आफूले लेखेका नाटक निर्देशन पनि गरे । उनले निर्देशन गरेको नाटक दरबारमा मात्र सीमित भयो ।

मोतीराम भट्टको साहित्यमा सक्रिय समय १५ वर्षजति रह्यो । यस अवधिमा दर्जनौ कृतिहरू लेखे सम्पादन गरे । ती मध्ये मुख्य कृतिहरू यस प्रकार छन,

मनोद्वेग प्रवाह (१९४२), प्रह्लाद भक्ति कथा (१९४३), शकुन्तला (१९४४) उषाचरित्र । १९४४), पिकदूत (१९४४) प्रियदर्शिका (१९४९) भानुभक्तको जीवन चरित्र (१९४८) आदि
“पिकदुत” भट्टको उत्कृष्ट नमुना प्रतिनिधि कृति हो। भट्टको जन्म नभएको भए रामायण र भानुभक्त आचार्य नेपाली आकासबाट ओझेल पर्न सक्थे। मोतीरामले रामायण खोज्ने, वाचन गर्ने र समीक्षा गर्ने काम पनि गरेका छन। भानुभक्त आचार्यको जीवनी लेखेर उनीलाई मात्र चिनाएनन, जीवनीपरक समालोचना लेख्ने, खोज्ने र स्थापित गर्ने परम्पराको थालनी गरेर अनुज समालोचकलाई प्रभावित पारेका छन। आजको नेपाली समालोचना जगतमा यस प्रकारको तत्परता भट्ट कै योगदान स्वरूप हो। हास्यब्यङ्ग्य शैली उनको सफल प्राप्ति हो भने शब्दहरूमा साङ्गीतिक सास्त्रीय छन्दको प्रयोगले उनको भाषालाई मीठो बनाएको छ। नेपाली साहित्यमा थोरै बाचेर धेरै योगदान पुर्याउने भट्ट नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन।
मोतिराम भट्ट नेपाली साहित्यमा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन।उनले नेपाली भाषा साहित्यमा समालोचनाको शुरूवात गरे। भट्टले नै सम्बत १९४८ मा कवि भानुभक्त आचार्यकोजीवन चरित्रलाई प्रकाशमा ल्याए,कवि भानुभक्त आचार्यको जीवनचरित्रमा मोतिराम भट्टले प्रभाववादी ढङ्गबाट ब्याख्यात्मक रूपमा भानुभक्त बारे
प्रशंसा गरेको मानिन्छ।आफुले खोजेको कविलाई प्रतिभा सम्पन्न तथा सहज कवि थिए भन्ने प्रमाणित गर्न त्यस जीवनचरित्रमा भानुभक्तले रचेको जताततै फुटकर सिलोकहरू देखाएका थिए भनिन्छ।
मोतीराम नेपाली साहित्यको उत्थानका लागि पटुकी कस्ने अलौकिक व्यक्तित्व थिए । नेपालका लागि मरिमेट्ने महान् पुरुष, राष्ट्रिय विभूति मोतीराम नेपाली भाषा साहित्यको लागि एक अलौकिक व्यक्ति मात्र होइनन् सिङ्गो संस्था नै थिए ।
त्यसैगरी मोतिराम भट्टद्वारा लेखिएको शृङ्गारिक धारको गजलको एक नमुना

यी सानै उमेरदेखि मन् हर्न लागे ।
यिनै सुन्दरीले जुलुम् गर्न लागे ।।
कहाँसम्मको आँट लौ हेर तिनको
रिसाएर आँखा पनि तर्न लागे ।

मोतीरामले नेपाली साहित्यमा आफ्नो मिहिनेत जाँगर र आरधनाबाट एउटा युग नै स्थापित गर्न सफल भए । वि.सं. १९४० देखि १९७४ सम्म नेपाली साहित्यको माध्यमिक युगलाई निरन्तर हाँकेका पौरखी पुरुष, बौद्धिक नायक सांस्कृतिक योद्धा मोतीराम होनहार व्यक्तित्व हुन् । उनका कृति कवितामा नरनारीको सुन्दरता, मायाप्रीति, भेटघाट तथा विछोडजस्ता भावहरू पाइन्छ भने केन्द्रीय प्रवृत्तिमा भने शृङ्गारिकता पाइन्छ । नेपाली साहित्यमा पहिलो शृङगारिक कवि, प्रथम नेपाली गजलकार, प्रथम पत्रकार, प्रथम जीवनी लेखक, नाटककार, समालोचकका रूपमा मोतीराम परिचित छन् ।

अन्तिम दिनहरू

मोतीराम भट्ट वि.सं. १९५० मा कलकत्तामा आइए परीक्षामा सम्मिलित भए । उनको सम्पूर्ण ध्यान साहित्य रचनातर्फ मात्र भएकोले अध्यानमा समय दिन सकेका थिएनन। त्यसैले उनी अनुत्तीर्ण भए । अनुतिर्ण भएको खिन्न भावना बोकेर पुन: बि स १९५२ मा फेरि कलकत्ता गए तर त्यही थला परे । अशक्त शरीर लिएर काठमाडौँ फर्के । विषम ज्वरले सात महिना ओछ्यानमा थला परे। पं. दयाराम भट्ट र रिपुमर्दिनीदेवीका सन्तानका रूपमा मोतीराम र उनकी बहिनी मात्र जीवित थिए। आफ्नो छोरो मोतीराम आर्यघाटमा मरणासन्न अवस्थामा पुगेको क्षणले रिपुमर्दिनी भट्टलाई त्यस घडी अत्यन्तै विह्वल बनाएको थियो। उनी त्यसबेला सुकसुकाउँदि आफ्नी विधवा छोरीका साथमा आफ्नो छोराको अन्तिम जीवन हेरेर बसिरहेकी थिइन्। अनि त्यसै बेला मोतीराम भट्टले आफ्नी आमा र बहिनी समक्ष भनेको कुरा पं.नरदेव पाण्डेले लेखेका छन् :-
“अब मेरो बाह्र घण्टादेखि बढ्ता यस कलेवरमा वास छैन। हजुरले पैदा गरीबक्सिएको यस शरीरबाट केही पुरुषार्थ गरी हजूरलाई देखाउँला भन्ने इच्छा थियो, सो मनको लड्डु मनैमा मात्र रह्यो। मेरा सन्तान भएनन् भन्ने हजूरलाई ठूलो अपशोच थियो। यसमा पनि गजेन्द्रमोक्ष, प्रह्लादभक्ति’ आदि मदेखि पैदा भएका जति ग्रन्थ छन, तिनै मेरा अमर सन्तान हुन् भनी सम्झिबक्सेला”
कुशे औंसिका दिन रोगले विस्तारै जित्न थाल्यो भने मोतीरामले रोगसँग हार्न थाले, एकतीस लागेकै दिन १९५३ सालमा पशुपति आर्यघाटमा स्वर्ग भए।यसरी नेपाली साहित्यको युगपुरुष ३० वर्ष पुरा भई ३१ बर्ष लागेको कलिलो उमेरमै अस्त भए । नेपाली साहित्यलाई समृद्ध र धनी बनाए।
मोतीराम भट्ट स्वर्गीय हुँदा उनका बुबा दयाराम भट्ट बनारसमा नै थिए। त्यस बेला रिपुमर्दिनी भट्टका मनमा अब आफ्नो भट्टकुलमा कसैको पनि पुत्र सन्तान नहुनाले वंशोच्छेद नै हुन लाग्यो भन्ने भावनाको जागरण भयो। परिणामस्वरूप उनले नै आफ्ना पति दयाराम भट्टलाई आफ्नो पुत्र गुमेको २ वर्षपछि अर्थात् संवत् १९५५मा काशीबाट काठमाडौँ झिकाइन। त्यसै वर्ष ५५ वर्षीय रिपुमर्दिनीले आफै बन्दोबस्त गरी ५७ वर्षीय दयाराम भट्टको विवाह गरिदिइन। भरखरकी कल्कलाउँदी कन्या दयाकुमारीसँग दयाराम भट्टको बिहे भएपछि भट्ट छोरा पाउने सपनामा नै केन्द्रित हुन थाले। बिहे गरेपछि दयाराम भट्ट आफ्नी कान्छी श्रीमतीसहित काशी नै पुगे। यी दम्पतिले संवत् १९५९ को मार्ग कृष्ण सप्तमीमा छोरा जन्माए, जसको नाउँ राखियो- रामेश्वर भट्ट। छोरो जन्मेको ६ महिनापछि दयाराम भट्ट र्स्वर्गे भए। दयाकुमारी भट्ट र रामेश्वर भट्ट रिपुमर्दनीको सुयोग्य, ममतामय र करुणामय संरक्षणमा रहे। केही समयपछि दयाकुमारी भट्टको पनि मृत्यु भयो, त्यसपछि रिपुमर्दिनी भट्टका साथमा एउटी छोरी र एउटा छोरा मात्र रहे।
मोतीरामले दिएको योगदानको सम्पूर्ण रुपमा कदर हुन नसके पनि केही कार्य भने अवश्यै भएको छ । मोतीरामकै नाममा युवावर्ष मोती पुरस्कार (२०४२) स्थापना गरिएको छ । मोतीरामकै नाममा हुलाक टिकट पनि प्रकाशन गरिएको छ । राष्ट्रिय विभूतिको रूपमा घोषणा गरी मोतीरामको योगदानको कदर गरिएको छ । मोतीरामले नेपाली भाषा साहित्यप्रति देखाएको स्नेह अग्रजप्रतिको सम्मानको भावना आजका सम्पूर्ण नेपाली साहित्यकारहरूले अनुकरण गर्न आवश्यक देखिन्छ ।

अन्त्यमा ,
गहिराइमा पस्नु पर्छ मोती बनेर आउन ।
सबैको मन मन्दिरमा प्यारो बनेर छाउन ।।
टुप्पामा हुन्न फल जरा बलियो नभइ ।
गुमाउनु पर्छ धेरै ,सम्मान सबैको पाउन ।।
धन्यबाद
युगपुरूष मोतिराम भट्टको १५८ औं जन्म जयन्ती प्रति हार्दिक श्रद्धा सुमन।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार