काठमाडौं । रुसी सेनामा कार्यरत एक नेपाली युवाले आफ्नो देशको परिस्थितिले गर्दा भर्ती हुन बाध्य बनाएको भन्दै भावुक सन्देशसहितको एक भिडियो सार्वजनिक गरेका छन् ।

टिकटकमार्फत जारी भएको सो भिडियो सन्देशमा ती युवाले आफूहरूलाई नेपालमा बसेका नेपालीहरूले जानीजानी किन मर्न गएको र पैसा भन्दा ज्यान ठुलो भनेको भने पनि यो आफूहरूको रहर नभई बाध्यता भएको उल्लेख गरेका छन् ।

ती युवाले भनेका छन्, ‘नेपालमा रहेका केही नेपाली र नेपालका नेतालाई केही म्यासेज छोड्न गइरहेको छु, यथार्थमा भन्ने हो भने हामी नेपाली जति पनि रसियन लाहुरे भएका छौं, हामी रुस र युक्रेनबीच युद्ध भइरहेको छ भन्ने जानेर नै रुसी सेनामा भर्ती भएका हौं तर हामी कुनै रहले भर्ती भएका होइनौं, हामीलाई हाम्रो देशको परिस्थितिले गर्दा बाध्यताले लाहुरे बनाएको हो ।’

उनले देशमा रोजगारीको व्यवस्था नभएकाले आज बेरोजगार नेपाली युवा अरूकै देशमा लड्न, ज्यान गुमाउन बाध्य भएको पनि भनेका छन् । कतिपय साथीहरूले आत्मसमर्पण गर्नुपरेको र अरूको देशमा बन्दी हुनुपरेको भन्दै उनले यो विषय देशका नेताका लागि लाजमर्दो विषय भएको भन्दै आक्रोश पोखेका छन् । उनले दशेभित्रै आन्दोलनका नाममा सेना र प्रहरीलाई मारेको र कसैलाई माओवादी बनाएर भाइभाइ लडाएकोप्रति पनि गुनासो गरेका छन् ।

उनले भनेका छन्, ‘नेताहरूले भ्रष्टाचार गरी १०औं पुस्तासम्मलाई पुग्ने सम्पत्ति थुपारेर हामी युवालाई बेरोजगार बनाई परदेसिन बाध्य बनाए, आफ्नै देशको घरछेउमा कलकारखाना भइदिएको भए आमाले बनाएको खाना खाएर साइकलमा कामबाट जाने आउने र बेलुका आफ्नै घरमा सुत्न पाउने भएको भए को अर्काको देशमा युद्ध लड्न आउने थियो र रु’

देशमा भएका कलकारखाना बेचेर आफ्ना छोराछोरी विदेशमा पढाइरहेको र आफूहरूजस्ता हजारौं युवालाई बेरोजगार बनाएर अर्काको देशमा श्रम गर्न बाध्य बनाएको पनि उनले बताएका छन् ।

उनले भनेका छन्, ‘धेरै नेपालीले पैसा होइन ज्यान ठुलो हो भनेर विभिन्न सामाजिक सञ्जाल वा फोनमार्फत भनिरहेका छन् तर त्यही पैसा नभएर आमाको च्यातिएको चोली फेर्न सकिएको छैन र एउटै लुगा पनि धेरैपटक लगाउन परेकाले केही सहज हुन्छ कि भनेर ज्यान धरापमा राखेर रुसी सेनामा भर्ती भएका हौं ।’

यसअघि माओवादी सशस्त्र द्वन्द्वताका बन्दुक बोकेका म्याग्दीका डायमन्ड सीले पनि आफू बाध्य भएर रुसी सेनामा भर्ना भएको उल्लेख गरेका थिए ।राजधानी दैनिकमा खबर छ ।

हालसम्म युद्धमा परी रुसी सेनामा कार्यरत सात जना नेपालीले ज्यान गुमाइसकेका छन् । रुस–युक्रेन युद्धमा रुसका पक्षबाट लड्न ३ देखि ४ हजार जनासम्म नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार